६ आश्विन २०८१, आइतबार | September 22, 2024

यो सरकार जति लामो समय चल्छ त्यति देशको अधोगति हुन्छ : सचिव बिष्ट



पोखरा- नेकपा एमालेका सचिव गोकर्ण विष्टले वर्तमान गठबन्धन सरकार लामो समय टिक्न नहुने बताएका छन्। सरकारको कार्यशैली र दिइरहेको सेवा हेर्दा सरकार लामो समय टिक्न नहुने उनको तर्क छ।


शनिबार प्रेस चौतारी गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा एमाले सचिव विष्टले भने, ‘यो सरकार जति लामो समय चल्छ त्यति नै देशको अधोगति हुन्छ । त्यति नै देशको प्रगति रोकिन्छ।’

गठबन्धनमा सामेल पार्टी विचार र कार्यनीतिका हिसाबले मेल नखाने उनको टिप्पणी छ। ‘एकातिर न्यूनतम् साझा कार्यक्रम छ।

न्यूनतम् साझा कार्यक्रमसँग नीति र कार्यक्रमको कुनै मेल खादैन’, पूर्व मन्त्रीसमेत रहेका उनले भने, ‘नीति र कार्यक्रमसँग बजेटको मेल खाँदैन। बजेट कार्यक्रमसँग विनियोजनको कुनै मेल छैन।’

उनले गठबन्धन सरकारलाई संगती नभएको सरकारको संज्ञा दिए।

‘यो संगति नभएको सरकार कति लामो समय जाने अपेक्षा नै राख्न सकिदैन’, नेता विष्टले भने।

उनले सरकारबाट जनताले धेरै अपेक्षा राख्नुलाई गोरु ब्याउँनेसँग तुलना गरे।
विष्टले नेकपा एमालेले मोर्चा बनाउनेबारे नसोचेको बताए ।

‘अरू पार्टीहरू मोर्चा बनाउन लागेका छन्, त्यो उहाँहरूको कुरा हो’, नेता विष्टले भने, ‘नेकपा एमाले पार्टीलाई सुदृढ गर्छ। थप मजबुत बनाउँछ। आम जनताको बीचमा चिरेर नेकपा एमाले अगाडि बढ्छ। यो पार्टीलाई सबल बनाउने हिसाबले हामी सम्पूर्ण कार्यकर्ता लाग्छौँ।’

उनले एमालेलाई सुधारेर २०८४ सालको निर्वाचनमा संघ र प्रदेशमा बुहमत ल्याउनेसमेत दाबी गरे।

जनताको आशालाई निराशामा बद्लिन नदिने उनको जिकिर छ।

‘जनताको आशालाई निराशामा बद्लिन दिन्न भनिरहेका छौँ। यसलाई हामीले व्यवहारमा पुष्टि गर्छौँ’, उनले भने ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ४ : ३८ बजे