१ आश्विन २०८१, मंगलबार | September 18, 2024

चितवनमा जनस्वास्थ्य प्रयोगशाला स्थापना



चितवन,आसर-१७

स्वास्थ्य कार्यालय परिसरमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको छ । बागमती प्रदेश सरकारले धुलिखेलमा सञ्चालनमा ल्याएको प्रयोगशालाको सेवा एकाइ यहाँ स्थापना गरेको हो ।

यस प्रयोगशालाले नसर्ने, सर्ने रोगको अध्ययन, गुणस्तर मापन र तालिम दिनेजस्ता काम गर्ने प्रयोगशालाका निमित्त निर्देशक नारायणबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार नसर्ने रोगका सम्बन्धमा आवश्यक अध्ययन, अनुसन्धानका नतिजाको आवश्यक समन्वय र आदानप्रदान गर्नेछ ।

यस्तै सर्ने रोगको अनुसन्धान गरी नतिजा वितरण गर्ने, प्रादेशिक प्रयोगशालाबाट गुणस्तर नियन्त्रणका लागि पठाइएका नमुनाको परीक्षण गरी नतिजा सङ्कलन गर्ने र विश्लेषण गर्ने, प्रयोगशालाको गुणस्तर मापनलगायतका काम गर्ने उहाँले जानकारी दिनुभयो ।

यस प्रयोगशालामा चार अधिकृतसरहका प्राविधिकले नियमित सेवा दिनेछन् । प्रयोगशालाबाट एक सय आठ प्रकारका नमुनाको परीक्षण हुनेछ । प्रयोगशालामा बाहिरभन्दा न्यून शुल्कमा परीक्षण गरिनेछ । प्रयोगशालामा रहेका उपकरण धुलिखेल प्रयोगशालामा सञ्चालनमा आइरहेका उपकरण हुन् । अत्याधुनिक प्रविधिका उपकरणबाट नमुना परीक्षण गरिने कार्कीले बताउनुभयो ।

प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सरकारबाट सञ्चालित स्वास्थ्य कार्यक्रमले जनतालाई विश्वसनीय सेवा दिनुपर्ने बताउनुभयो । मेडिकल सहरका रुपमा विकास भएको चितवनमा स्थापना गरिएको यस प्रयोगशालाले प्रदेशका मात्रै नभई यहाँ उपचार गर्न आउने अन्य जिल्लाका बिरामीसमेत लाभान्वित बन्ने उहाँको भनाइ छ ।

प्रदेश सरकार अहिले हुँदा खानेको पहुँचमा स्वास्थ्य सेवा पु¥याउन लागिपरेको उहाँको भनाइ छ । उहाँले प्रदेश सरकारले धुलिखेल प्रयोगशालाको शाखाका रुपमा पहिलोपटक यस जिल्लामा प्रयोगशाला स्थापना गरेको बताउनुभयो । यहाँ रहेका उपकरण उच्च प्रविधिका रहेको जनाउँदै उहाँले नतिजासमेत कम्युटरबाटै आउने भएकाले मानवीय त्रुटि नहुने बताउनुभयो । जोशीले भन्नुभयो, “यस जिल्लामा धेरै बिरामी उपचारका लागि आउने भएकाले प्रयोगशाला यहाँ स्थापना गरेका हौँ ।”

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  १ : ४८ बजे