३१ भाद्र २०८१, सोमबार | September 16, 2024

देवचुलीमा सर्पदंशको उपचार सुरु



नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा सर्पदंशको उपचार सुरुआत भएको छ । दुम्कौलीमा रहेको देवचुली नगर अस्पतालमा सोमबारदेखि सर्पदंशको उपचार थालिएको हो ।

देवचुली नगर अस्पतालमा चौबीसै घन्टा आकस्मिक सेवासहित सर्पदंशको उपचार सेवा सुरु गरिएको अस्पतालका प्रमुख जनस्वास्थ्य अधिकृत चित्रबहादुर सुनारले जानकारी दिनुभयो । नगर अस्पतालमा उपचार सुरु भएपछि देवचुली नगरवासीलाई सर्पदंश हुनेबित्तिकै उपचारका लागि गैँडाकोट तथा कावासोती जानुपर्ने बाध्यताको अन्त्य भएको उहाँले बताउनुभयो । नवलपुरका पालिकासहित तराईमा सर्पदंशका बिरामीले समयमा उपचार नपाउँदा मृत्युवरण गर्नेको सङ्ख्या बढ्दो छ ।

सर्पदंशबाट हुने मृत्यु न्यूनीकरणका लागि देवचुली नगर अस्पतालमा चौबीसै घन्टा आकस्मिक सेवासहित सर्पदंश उपचार सेवा सुरु गरिएको जनस्वास्थ्य अधिकृत सुनारको भनाइ छ । यदि कसैलाई सर्पले टोकेको अवस्थामा धामीझाँक्री तथा झरफुकमा जान नहुने जनाउँदै उहाँले बिरामीलाई सिधै नगर अस्पतालमा ल्याउनुपर्ने बताउनुभयो ।

सर्पदंश उपचार सेवा शुभारम्भ कार्यक्रममा नगरप्रमुख हरिप्रसाद न्यौपानेले नगरवासीलाई पूर्णरूपमा स्वास्थ्य सेवा प्रदान गर्न आफूहरूले नगर अस्पतालको सेवा विस्तारमा ध्यान केन्द्रित गरेको बताउनुभयो । उहाँले गर्मी महिना सुरु भएसँगै सर्पदंशको जोखिम उच्च हुने भएकाले यसबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो । नगरपालिकाले नगर अस्पताललाई आवश्यक जनशक्तिसहित चौबीसै घन्टा सञ्चालन गर्न आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु एक करोड १० लाख विनियोजन गरेको उहाँले बताउनुभयो ।

यस वर्षमात्रै जिल्लामा तीन सय ९४ जनालाई विषालु तथा अविषालु सर्पले टोकेका स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । कार्यालयका ‘फोकल पर्सन’ डिल्लीराम तिवारीका अनुसार जिल्लामा विषालु सर्पले १५ पुरुष तथा १२ महिला र अविषालु सर्पले एक सय ८५ पुरुष तथा एक सय ७७ महिला गरी तीन सय ७२ जनालाई टोकेको छ ।

सर्पले टोकेको ठाउँमा घाउ बन्ने, रगत बग्ने, सुन्निने, रातो हुने, दुख्ने, वाकवाकी लाग्ने, चक्कर आउने, कमजोरी महसुस हुने, टोकेको ठाउँ लाटो हुने वा झमझमाउनेजस्ता लक्षण देखिने उहाँले बताउनुभयो । सर्पले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने, सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने बाँध्ने नगर्ने तथा टोकेको ठाउँमा रासायनिक पदार्थ तातो–चिसो प्रयोग नगर्ने र बिरामीको आत्मविश्वास कायम राख्ने गर्नुपर्ने जनाइएको छ । उहाँका अनुसार सर्पदंशका बिरामीलाई धामी–झाँक्रीतिर नलग्ने, विष सोस्ने कुराको पछि नलाग्ने, सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने, जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्रमा पुर्याउनु पर्दछ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : ०९ बजे