१ आश्विन २०८१, मंगलबार | September 17, 2024

बिपी शान्ति नगरवन संरक्षण गरिँदै



चितवन, २० असार :
चितवनको भरतपुर महानगरपालिका–३ स्थित बिपी शान्ति नगरवन संरक्षणको काम थालिएको छ । लामो समयदेखि संरक्षणको पर्खाइमा रहेको सो नगरवनमा अहिले बिपीको सालिक राख्ने, टायल बिछ्याउने, पर्खाल निर्माणलगायतका काम भइरहेका छन् ।

महानगरपालिकाको रु ३५ लाखको लागतमा संरक्षणको काम भइरहेको उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिनुभयो । विसं २०३५ मा नारायणी बगरको रूपमा रहेको सो क्षेत्रको एक सय १२ बिघा अहिले नगरवनमा परिणत गरिएको छ । बिपीको ढलोटको अर्धकदको मूर्ति फुटेसँगै सोही स्थानमा नयाँ सालिक राखिएको छ । वनभोजस्थल व्यवस्थापन, पालेघर व्यवस्थापनलगायत काम तीव्ररूपमा भइरहेका छन् ।

तत्कालीन समयमा नगरपञ्चायतले वृक्षरोपण गरेर स्थापना गरेको नगरवनलाई अहिले थप राम्रो बनाउने काम भइरहेको छ । नगर वन क्षेत्र पछिल्लो सयम पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएकाले यसलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धनमा जोड्नका लागि संरक्षणका काम गरिएको उहाँले बताउनुभयो ।

अधिकारीका अनुसार वडा नं ३ ले रघुनाथ तिमिल्सिनाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी यहाँको संरक्षण र संवर्द्धनका लागि काम गरिरहेको छ । तत्कालीन समयमा भरतपुर नगरपालिका–४ हुँदा विभिन्न समिति निर्माण गरी संरक्षणको काम गरिएको भए पनि पछिल्ला वर्षहरूमा संरक्षणको पर्खाइमा नगरवन क्षेत्र रहेको थियो । वन्यजन्तुको समेत बासस्थान रहेको उक्त क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने उहाँले बताउनुभयो ।

भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई सफल बनाउन नगरवनले सहयोग गर्ने अधिकारीले बताउनुभयो । नगरवनको संरक्षणका लागि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि रु १८ लाख विनियोजन गरेको छ । स्थानीय सरकार र प्रदेश सरकारको सहयोगमा नगरवन संरक्षणको काममा अघि बढेको अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  १० : २२ बजे