६ आश्विन २०८१, आइतबार | September 22, 2024

राजसंस्थाको विषयमा पुनर्विचार हुन्छ : अध्यक्ष थापा



काठमाडौँ, २० असार :
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गर्ने बताउनुभएको छ ।

पार्टी निकट जनवर्गीय सङ्गठनको आज आयोजित संयुक्त भेलामा अध्यक्ष थापाले मुलुकको भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै राजसंस्थाको औचित्य र आवश्यकताबारे पार्टीको नितिमा पुनर्विचार गरिने स्पष्ट पार्नुभयो ।

पार्टीले राजसंस्थालाई तत्काल कार्यनीतिमा नराखेको भए पनि केन्द्रिय समिति बैठकमा व्यक्त धारणा र देशभरिका कार्यकर्ताको भावनाको सम्मान गर्दै सो संस्थाको पक्षमा निर्णय लिन सक्ने संकेत गर्नुभयो ।

अध्यक्ष थापाले ठूला दलले मुलुकको समस्यालाई निकास गर्न नसकेकाले राजनीतिप्रति जनताको चरम वितृष्णा रहेको र नयाँ शक्तिको रुपमा आएका पार्टी सत्ता केन्द्रित भएकाले आफ्नो पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै जनवर्गीय सङ्गठनलाई केन्द्रित हुन निर्देशन दिँदै भ्रष्टाचार, बेरोजगारी, धर्म परिवर्तन र कुशासनको विरुद्धमा जनतालाई सचेत गरी उनीहरुको पक्षमा दृढतापूर्वक क्रियाशील हुन आग्रह गर्नुभयो ।

राप्रपा नेपाल असल विचार, निष्ठावान् कार्यकर्ता र इमान्दार नेतृत्वको बलमा उठ्ने र आगामी दिनमा एउटा शक्तिशाली वैकल्पिक शक्ति बनाएरै छाड्ने उहाँको भनाइ थियो ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ८ : ४५ बजे