९ मंसिर २०८१, आइतबार | November 25, 2024

हेटौँडामा दुई उद्योग स्थापना



बाग्मती, २३ असार :
हेटौँडा उपमहानगरपालिका नगरक्षेत्रमा दुईवटा गार्मेन्ट उद्योग स्थापना गरिएको छ । उपमहानगरले रू २० लाखको लगानीमा वडा नं ५ र १८ मा उद्योग स्थापना गरेको जनाएको छ ।

वडा नं ५ मा ‘हेटौँडा गार्मेन्ट समूह उद्योग’ र वडा नं १८ को हर्नामाडीमा ‘स्वरोजगार महिला गार्मेन्ट उद्योग’ स्थापना गरिएको उपमहानगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिनुभयो । स्थानीयलाई स्वरोजगार बनाउँदै सीप र क्षमताको विकास गर्ने उद्देश्यले दुई फरक स्थानमा उद्योग स्थापना गरी सञ्चालनको तयारी गरिएको उहाँले बताउनुभयो । उद्योग सञ्चालन भएसँगै स्थानीयलाई आयआर्जनमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

पहिलो चरणमा उपमहानगरले लगानीमा ‘आधारभूत सिलाइकटाइ तालिम’ प्रदान गरी रोजगारीका अवसर सृजना गर्ने वातावरण तयार गरिएको उपमहानगरपालिकाका उद्योग तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलले बताउनुभयो । अहिले प्रथम चरणमा आधारभूत सिलाइकटाइको तालिमपछि हेटौँडा–५ मा १० जनालाई र हेटौँडा–१८ मा २१ जनालाई रोजगारीका अवसर दिने उहाँको भनाइ थियो । उक्त गार्मेन्ट सञ्चालनमा आएपछि प्रत्येक वर्ष १० जनाका दरले रोजगारीमा वृद्धि गर्दै जाने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, हेटौँडामा रू तीन करोडको लागतमा कृषि तथा तरकारी फलफूल बजार सञ्चालन आएको छ । वडा नं ४ मा त्रिवेणी भेजिटेबल मार्ट प्रालिद्वारा सञ्चालनमा आएको उक्त तरकारी बजारको उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले उद्घाटन गर्नुभयो ।

उक्त तरकारी तथा फलफूल बजारमा ९० तरकारीका स्टल, ३० गेडागुडी तथा खाद्यान्नका स्टल, २० फलफूलका स्टल, पाँच मासुका स्टल र पाँच खाजाका लागि स्टल राखिएको मार्टका अध्यक्ष अभ्यास भुजेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  १ : ०८ बजे