५ आश्विन २०८१, शनिबार | September 22, 2024

देशले विकासको फड्को मार्न राजनीति स्थिरता चाहिन्छ : डा भट्टराई



गोरखा, १ साउन  :
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले देशले विकासको फड्को मार्न कम्तीमा पाँच वर्ष राजनीतिक स्थिरता चाहिने बताउनु भएको छ । चेम्बर अफ कर्मस गोरखाले आज सदरमुकाममा आयोजना गरेको व्यवसायीहरूसँगको छलफल तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले राजनीतिक स्थिरता नभएसम्म विकासले गति लिन नसक्ने बताउनुभयो ।

“विकासका निर्माणका सवालमा खुट्टा तान्ने काम बन्द हुनुपर्छ, कम्तीमा पाँच वर्षसम्म राजनीतिक स्थिरता नभएसम्म मुलुकको विकासको गति अघि बढ्न कठिन हुन्छ”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो, “विकास र समृद्धिका लागि नयाँ ढङ्गले सोच्नु आवश्यक छ ।” उहाँले नेपालमा सरकार बनाउने र ढाल्ने परिपार्टी बढी भएकाले पनि विकास निर्माणको काम सोचेजस्तो गतिमा अघि बढ्न नसकेको बताउनुभयो ।

राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तर सुधार गर्ने गरी आर्थिक परिवर्तन अझै हुन नसकेको भन्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले त्यसका लागि नयाँ सोच र नयाँ शक्तिको खाँचो रहेको औँल्याउनुभयो । “कृषि प्रधान देश भएकाले कृषि क्षेत्रको विकासमार्फत नै कृषि अर्थतन्त्रलाई उद्योग प्रधान अर्थतन्त्रको विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “विकासका लागि पहिलो चरणमा भौतिक पूर्वाधारको निर्माण गरी विश्वबजारसँग नेपाली बजारलाई जोड्न सक्नुपर्छ ।”

अर्र्को प्रसङ्गमा पूर्वप्रधानमन्त्री डा भट्टराईले गोरखा र धादिङको सिमाना निर्माण गर्ने भनिएको बूढीगण्डकी योजना निर्माण सम्पन्न गर्न सके यो आयोजना गोरखा मात्रै होइन सिङ्गो नेपालकै ‘गेम चेन्जर’ आयोजना बन्ने पनि दाबी गर्नुभयो । उहाँले बूढीगण्डकी जलाशययुक्त आयोजना बहुउद्देश्यीय आयोजना भएकाले यसलाई जोडेर अन्य धेरै प्रोजेक्टहरु चलाउन सकिने उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाले गण्डकी प्रदेशभित्र प्रशास्त आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने सकिने बताउनुभयो । “अहिलेको हिसाबले आयोजना बने यो यहाँ फेवातालभन्दा झन्डै पन्ध्र पन्ध्रगुणा ठूलो ताल बन्छ”, उहाँले भन्नुभयो, “यस आयोजनाबाट यस क्षेत्रलाई विद्युत् उत्पादनमात्र नभई पर्यटकीय हब बनाएर काम गर्न सके सिङ्गो देशको आर्थिक समृद्धि हासिल गर्न मद्दत पुग्नेछ ।”रासस

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ८ : १९ बजे