२ आश्विन २०८१, बुधबार | September 18, 2024

पृथ्वीको तापक्रम वृद्धि, समुद्री ताप र अन्टार्कटिकाका सागरमा बरफ कम हुनु असामान्य



वैज्ञानिकहरुले मौसम सम्बन्धी कयौँ कीर्तिमानीहरु भङ्ग भइरहेकाे भन्दै चिन्ता व्यक्त गरेका छन् ।

तापक्रम वृद्धी, समुद्री ताप र अन्टार्कटिकाका सागरमा बरफ कम भएको लगायतका मौसम सम्बन्धी घटनाहरु देखिएका भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका बीबीसीले जनाएको छ । अहिले पृथ्वीको उत्तरी गोलार्द्धमा उष्ण लहर चलिरहँदा ग्रिसमा ५० वर्षयताकै सर्वाधिक तातो जुलाई महिना चलिरहेको छ ।

अमेरिकाको दक्षिणी भागमा पनि जुलाई अहिलेसम्मकै सर्वाधिक गर्मी महिना बन्नसक्ने वैज्ञानिकहरुले बताएका छन् । संयुक्त राष्ट्रसङ्घले युरोपमा खतरनाक उष्णलहर अझै बढ्नसक्ने चेतावनी दिएको छ । विश्वको औसत तापक्रम हिजो पहिलोपल्ट १७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

यस्तै विश्वभरका समुद्रको औसत तापक्रमले पनि मे, जुन र जुलाई महिनामा विगतको तथ्याङ्कमा नयाँ कीर्तिमान बनाएको छ । अन्टार्कटिकाका महासागरमा समुद्री बरफले ढाकिएको क्षेत्र विगतका जुलाई महिनाको तुलनामा अहिलेसम्मकै कम छ ।

वैज्ञानिकहरूले यस्ता कीर्तिमानहरू आउँदा वर्षहरूमा अझै तोडिँदै जाने बताएका छन् । लन्डन स्कुल अफ इकोनोमिक्सका वातावरणीय भूगोलविद् थोमस स्मिथले मौसम प्रणालीका सबै हिस्सा एकैपटक असामान्य अवस्थामा रहेको यस्तै परिस्थिति यसअघि नदेखिएको बताउनुभएको बीबीसीले जनाएको छ ।

यस्ता घटनाहरुलाई जलवायु परिवर्तनका कारणसँग जोड्न सजिलो नभए पनि मुख्य कारण त्यही हुन सक्ने वैज्ञानिकहरुको भनाइ छ । मौसम सम्बन्धी नयाँ कीर्तिमान्हरुले मौसमजन्य विपद्का घटना बढ्ने वैज्ञानिकहरुको चिन्ता छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ६ : ३३ बजे