४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा एक सय १७ जनावर मरे



गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय १७ वटा जनावर मृत फेला परेका छन् । निकुञ्ज र मध्यवर्ती सामुदायिक वन क्षेत्रमा १७ प्रकारका जनावर मृत अवस्थामा भेटिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका जनावरमध्ये प्राकृतिक कारणले मरेका धेरै रहेका छन् ।उहाँका अनुसार प्राकृतिक कारणले ८० जनावर मरेका छन् । कुकुरले टोकेर २६ वटा जनावर मरेका छन् । यस क्षेत्रमा सो समयमा ५५ वटा चित्तल, चोरीशिकारीबाट दुईसहित २२ वटा गैँडा, घडियाल गोही नौ वटा, जरायो सात वटा, गौरी गाई, अर्ना र बाघ तीन/तीन वटा मृत फेला परेका छन् ।

हात्ती, बँदेल, कछुवा, मगरगोही र रतुवा दुई/दुई वटा मृत अवस्थामा भेटिएको उहाँले बताउनुभयो ।दुम्सी, स्याल, धनेश, लगुना, जरायो, चितुवा एक÷एक वटा मृत अवस्थामा भेटिएका हुन् । सोही समयमा एक सय ४२ वटा जनावरको उद्धार गरिएको निकुञ्जको तथ्याङ्कले देखाएको छ । जसमध्ये अजिङ्गर ८६ वटा, सर्प १९ वटा, चित्तल १३ वटा, गैँडा र बाघ छ/छ वटा, घडियाल गोही पाँच वटाको उद्धार गरिएको छ । यस्तै कछुवा दुई वटा, गोहोरो, सालक, मगर गोही, जरायो र सुन गोहरो एक/एक वटाको उद्धार गरिएको तिवारीले जानकारी दिनुभयो ।

उद्धार गरिएकामध्ये एउटा बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज, एउटालाई चितवन राष्ट्रिय निकुञ्जमा छोडिएको छ । अन्य बाघ निकुञ्जको खोरमा राखिएको उहाँले बताउनुभयो । अन्य जनावरलाई उनीहरुको अवस्था हेरी सुरक्षित बासस्थानमा छोडिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ९ : १९ बजे