६ आश्विन २०८१, आइतबार | September 22, 2024

पाकिस्तान बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो



पेशावर, १४ साउन :
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक जमीयत उलेमा–ए–इस्लाम (एफ) पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा ३९ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका अधिकारीहरूले बताएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा उक्त पार्टीको स्थानीय एक नेताको पनि मृत्यु भएको छ ।

यस पहिले प्रहरीले दिएको प्रारम्भिक जानकारीमा विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका उल्लेख गरिएको थियो ।

खैबर पख्तुनख्वा प्रान्तका स्वास्थ्यमन्त्री रियाज अनवरले एएफपीसँग भन्नुभयो, “विस्फोटपछि अस्पतालमा लगिएका मध्ये ३९ जनाको मृत्यु भइसकेको छ भने १२३ जनाको घाइते अवस्थामा उपचार भइरहेको छ ।”

प्रान्तीय गभर्नर हाजी गुलाम अलीले मृतकको सङ्ख्याको पछिल्लो विवरणलाई पुष्टि गर्दै सरकारले आक्रमणमा संलग्न व्यक्ति र समूहबारे गहन अनुसन्धान सुरू गरिसकेको बताउनुभयो । समाचार तयार पार्दासम्म आक्रमणको कुनै व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ९ : १६ बजे