४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग अध्यक्ष दाहालमाथि कालोमोसो दल्नेलाई नेविसंघले गर्‍यो कारबाही



पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालोमोसो दल्नेलाई नेविसंघ केन्द्रले कारबाही गरेको छ।

अध्यक्षमाथि कालोमोसो दल्नेजस्तो खेदजनक कार्य गरेको भन्दै नेविसंघले अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति निकालेर उनीहरूलाई नेविसंघले कारबाही गरेको उल्लेख गरेका हुन्।

‘पूर्वाञ्चल विश्वविद्यालयको घटनामा नेविसंघ आबद्ध केही व्यक्तिहरूको संलग्नता पुष्टि भएको हुँदा नेविसंघ विधान २०२७ बमोजिम अनुशासनको कारबाही गरी केहीलाई निलम्बिनसमेत गरिएको छ भने केहीलाई नसियत दिइएको छ,’ अध्यक्ष शेर्पाले भने।

क-कसलाई निलम्बन र नसियत गरिएको विज्ञप्तिमा नाम खुलाइएको भने छैन। गत जेठ २९ मा सेवा आयोग अध्यक्षमाथि निवासमै पुगेर नेविसंघ कार्यकर्ताले कालोमोसो दलेका थिए। यस घटनामा प्रहरीले नेविसंघ मोरङ अध्यक्ष सरोज पोखरेललाई पक्राउसमेत गरेको थियो।

घटनामा नेविसंघ कार्यकर्ता संलग्न भएपछि नेविसंघले छानबिन समेत गरेको थियो। छानबिनका क्रममा कालोमोसो दल्न नेविसंघ कार्यकर्ता संलग्न रहेको पाइएको थियो।

नेविसंघका नाममा कुनै पनि विधिविधान विपरीतका गतिविधि नगर्नसमेत निर्देशन दिइएको पनि उनले बताए।

साउन १० मा सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले माग पूरा गर्ने बाहनामा कालोमोसो दल्ने गतिविधि गरे दोषीमाथि सदस्यतासमेत खारेज गरी थप कारबाही गर्ने निर्णयसमेत गरेको थियो।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ११ : ५७ बजे