५ आश्विन २०८१, शनिबार | September 21, 2024

लालबहादुरले पाए न्याय



उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाएसँगै विगत सात महिनादेखि हिरासतमा रहेका लालबहादुर बिक रिहा हुने भएका छन्।

इजाजतबिना बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका बिकलाई उच्च अदालत विराटनगरले सफाइ दिएको उच्च अदालतका सुचना अधिकारी निधिराम दाहालले जानकारी दिए।

सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराका गोपाल भन्ने लालबहादुरलाई मंगलबार उच्च अदालतका न्यायाधीश बिपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले पूर्ण सफाइ दिएको हो।

लालबहादुरलाई जिल्ला अदालत सुनसरीले गत पुसमा डेढ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना र झण्डै तीन करोड रुपैयाँ बिगो भराउने फैसला गरेको थियो। उक्त फैसलाले उनलाई अन्याय भएको भन्दै चौतर्फी आलोचना भएको थियो।

गरिब परिवारका लालबहादुर १० वर्ष अघि खाडी मुलुक दुबई बसाईपछि नेपाल आएरदीपक गजमेरको परिवारले सञ्चालन गर्ने सिंहदेवी ज्वेलर्समा काम गर्न थाले। दीपकका परिवारसहित लालबहादुरविरुद्ध करोडौँ ठगीको आरोपमा २०७५ जेठ २० गते इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी पर्‍यो।

उनले पसलमा आउने धेरैलाई तथा अन्य मानिसहरूलाई राम्रो ब्याज दिने भन्दै पैसा उठाउने गर्थे। उनले पास बुक नै बनाएर बचतका नाममा करोडौँ रकम उठाएका थिए। तर, ब्याजको आशले पैसा दिएकाहरूले ब्याज त परको कुरा सावाँ पनि फिर्ता पाएनन्। जति रकम जम्मा गरे पनि आजसम्म जम्मा गरेका व्यक्तिले कुनै रकम पाएका छैनन्। आफ्नो पैसा नउठ्ने संकेत पाएपछि पीडितहरू प्रहरी गुहार्न पुगे। पीडितहरूको जाहेरीपछि प्रहरीले कृष्ण विश्वकर्मा, दीपक विश्वकर्मा, सीता विश्वकर्मालाई पक्राउ गरेको थियो। सोही क्रममा लालबहादुर पनि पक्राउ परेका थिए।

नागरिक दैनिक

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १२ : ५८ बजे