४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

चीनको हेबेईमा बाढीमा परी कम्तीमा १० जनाको मृत्यु



बेइजिङ, २० साउन 
उत्तरी चीनको हेबेई प्रान्तको एक सहरमा आएको बाढीमा परी कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।
अधिकारीहरूले बेइजिङबाट करिब १५० किलोमिटर (९० माइल) टाढा रहेको प्रान्तको सबैभन्दा बढी प्रभावित शहर बाओडिङमा मृत्यु हुनेको सङ्ख्या कम्तीमा १० रहेको घोषणा गरेका छन् ।
स्थानीय समयअनुसार शनिबार मध्याह्नसम्ममा शहरका छ लाखभन्दा बढी मानिसलाई जोखिममा रहेका स्थानबाट सुरक्षित स्थानमा सारिएको मेयरको कार्यालयले जनाएको छ ।
हालैका महिनाहरूमा चीन रेकर्ड तोड्ने गर्मीदेखि घातक वर्षासम्मको चरम मौसमी चपेटामा परेको छ ।
गत महिना प्राकृतिक प्रकोपका कारण १४७ जनाको मृत्यु वा बेपत्ता भएको चीनले शुक्रबार जनाएको छ ।
गत शुक्रबार चीनको मुख्य भूमि चीनमा आँधीबेहरीको रूपमा आएको डोक्सुरी आँधीपछि आएको मुसलधारे वर्षा १४० वर्षयताकै सबैभन्दा भीषण वर्षा भएको मौसमविद्हरूले बताएका छन् ।
चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले जुलाई महिनामा १४२ जनाको मृत्यु वा वेपत्ता हुनुको कारण बाढी वा भौगर्भिक प्रकोपका कारण भएको जनाएको छ ।

रासस/सिन्ह्वा

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : २३ बजे