४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

मनकामना अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएकी महिलाकाे परिवारलाई २७ लाख ५० हजार क्षतिपूर्ति



चितवन, २० साउन :
यहाँको मनकामना अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि परिवारलाई क्षतिपूर्ति दिइएको छ । अस्पतालले रु २७ लाख ५० हजार क्षतिपूर्ति दिएपछि परिवारले मृतकको शव उठाएका छन् ।

भरतपुर महानगरपालिका वडा नं २६ की ३५ वर्षीया नवीना महतोको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको थियो । मृतकका पति मणिकलाल महतोका अनुसार गत बिहीबार अनिच्छित गर्भपतनका लागि अस्पताल ल्याइएको थियो । अत्यधिक रक्तश्रावका कारण उनको गए राति १ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको थियो ।

मृतकका आफन्तले अस्पतालले गल्ती स्वीकार गर्नुपर्ने बताउँदै आएका थिए । सहमतिपछि अस्पतालले आजै रु २७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । वार्तामा सहभागी अस्पतालका चिकित्सकका अनुसार सहमतिपछि परिवारले शव उठाएका हुन् ।

नवीनाको मृत्युपछि आज बिहानैबाट मृतकका आफन्तले अस्पताल घेराउ गरेका थिए । उच्च रक्तश्रावपछि शल्यक्रिया गरेर पाठेघर झिकिएको भए पनि बचाउन नसकिएको हो । परिवारले पाँच वर्षकी छोेरीको पढाइका लागि रकम माग गरेपछि अस्पतालले सो रकम दिएको हो ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ७ : ३५ बजे