४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

प्रभावकारी बन्दै भरतपुर महानगरको बजार अनुगमन



भरतपुर महानगरपालिकाको दैनिक नियमित बजार अनुगमन थप प्रभावकारी बन्दै गएको छ । महानगरपालिकाले बजारमा स्वच्छता कायम गर्ने र उपभोक्ताहरु नठगिउन भन्ने उद्वेश्यले बजार अनुगमन कार्यलाइ निरन्तरता दिइरहेको छ । बजार अनुगमन कार्य भरतपुर महानगर अन्तर्गतको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइको दैनिक बजार अनुगमन कार्य मै पर्दछ । गत आर्थिक बर्ष देखि नै महानगरले बजार अनुगमन कार्यलाइ तिब्र रुपमा कडाइका साथ निरन्तरता दिदै आएको छ ।

चालू आर्थिक बर्ष २०८०/८१ शुरु भए देखि नै महानगरमा दैनिक उपभोग्य बस्तुहरु माथी हुँदै आएको अबैज्ञानिक मुल्यवृद्धि र अखाद्य बस्तुहरुको बारेमा व्यापक जनगुनासो तथा उजुरी आउने क्रम बढेको छ । अहिले महानगरको उजुरी पेटिकामा दैनिक जसो उपभोक्ताको गुनासोले भरिएका उजुरीहरु आउने गरेको र तत्काल नै महानगरको बजार अनुगमन समिति एक्सन उत्रने गरेको छ ।

सोमबार भरतपुरका विभिन्न क्षेत्रहरुमा महानगरले बजार अनुगमन गरेको छ । भरतपुर १६ शिबघाटमा रहेको नेवारी किचन,जलकपुर होटल एण्ड रेस्टुरेन्ट,होटल ओकायरी,र भगेरीथान कटेजमा महानगरले सोमबार छड्के स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकाश होटलहरुले सरसफाइमा ध्यान नदिएको,मूल्य सुची नराखेको, वडा कार्यलयमा दर्ता नगरी सन्चालन गरेको,उपभोक्तासग अस्वभाविक मूल्य लिइएको,एमआरपी भन्दा बढी मुल्यमा दैनिक उपभोग्य बस्तु बिक्री बितरण गरेको पाइएको छ । त्यस्तै भगेरीथान कटेजले सरसफाइमा हेलचक्राइ गरेको भन्दै अनुगमन समितिले पाँच हजार रुपैयाँ जरिवाना लगाएको छ । त्यस्तै गरि भरतपुर १९ शारदानगरमा रहेको पिन्ची रेस्टुरेन्टलाई पनि सरसफाइमा बिशेष ध्यान नपुर्‍याएको भन्दै दुई हजार रुपैयाँ जरिवाना गरिएको छ । शारदानगर मै रहेको पबित्रा एण्ड ब्रदर्श( खाद्य पसल)बाट ठूलो परिणाममा बेच्न राखिएका अखाद्य बस्तु (म्याद नाघेका) बरामद गरिएको छ । बरामद गरिएका सामानहरुमा घ्यु ५ लिटर,चकलेट ६ बट्टा,पतन्जली अचार ४ बट्टा,अमिलो,सुजि बत्ती बाल्न प्रयोग गरिने रासायनिक तेल १६ बट्टा बरामद गरिएको छ । बरामद गरेका उक्त सामाग्रीलाई जनप्रतिनिधि,पत्रकार,कर्मचारी र अन्य सरोकारवालाहरुको रोहबरमा महानगर हाता भित्र खाल्डो खनी नष्ट गरेको छ ।

 

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ७ : २५ बजे