६ आश्विन २०८१, आइतबार | September 22, 2024

जातिय विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छः अध्यक्ष ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन्। बिहीबार २९औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालीका बीचमा जातका आधारमा आपसी विद्वेष र घृणा फैलिएमा देशको अस्तित्व समाप्त हुने उल्लेख गरे।

नेपालमा जातीय विविधता रहेको भन्दै उनले सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुने बताए। पहिचानको मुद्दा देशको हितका लागि हुनुपर्ने धारणा राख्दै ओलीले पहिचानको मुद्दाले देशमा समस्या खडा गर्नु नहुने बताए।

‘यदि कुनै पनि हिसाबले हामीलाई जातका आधारमा केहीका नाममा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ। त्यतिबेला हाम्रो देश जोगिँदैन। जोगाउन सकिँदैन। विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुन्छ।’

अध्यक्ष ओलीले राज्य कुनै एउटा धर्म र जात विशेषको नभएकोले नै देशलाई धर्म निरपेक्ष बनाइएको बताए। देशको नाम ‘नेपाल’ पनि कुनै जात विशेषको नभएको उल्लेख गर्दै उनले प्रदेशहरुको नाम पनि साझा भुगोल, संस्कृति र नदीनालाको नामबाट राखिएको बताए।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ६ : ०४ बजे