६ आश्विन २०८१, आइतबार | September 22, 2024

गठबन्धन सरकार पूरा समय रहन्छ : अर्थमन्त्री महत



लहान (सिरहा), ३२ साउन :

अर्थमन्त्री डा प्रकाशशरण महतले अहिलेको कांग्रेस–माओवादीसहितको गठबन्धन सरकार पूरा समय रहने बताउनुभएको छ ।

आज सिरहाको गोलबजारमा नेपाली कांग्रसको जिल्लास्तरीय कार्यकर्ता भेलाको समापन समारोहमा उहाँले निर्वाचनमा पनि गठबन्धन बनाएर लडेकाले पूरा समय गठबन्धन सरकार चल्ने विश्वास व्यक्त गर्नुभयो । “निर्वाचन अगाडि हामी एउटै गठबन्धन बनाएर लडेका थियौँ । बीचमा केही गडबड भयो । फेरि सँगसँगै आएका छौँ र सरकारले जनतामा उत्साह ल्याउने गरी राम्रो काम गरिरहेको छ”, मन्त्री महतले भन्नुभयो, “मलाई पूरा विश्वास छ, यो सरकारले पूरा समय परिणाम दिने गरी काम गर्नेछौँ ।”

उहाँले पूँजीगत रकमका आकार सानो भएकाले साना योजनामा रकमान्तर गर्न नसकेको स्वीकार गर्नुभयो । तराई मधेसको कृषिको विकासका लागि सुनकोसी–मरिण डाइभर्सन र कमला सिँचाइ आयोजनालाई सरकारले उच्च महत्त्व दिएर लागिपरेको पनि उहाँले प्रष्ट पार्नुभयो । समारोहमा मन्त्री महतले कार्यकर्तालाई कांग्रेसको संस्थागत निर्णयमा एकताबद्ध भएर लाग्न आह्वानसमेत गर्नुभयो ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ८ : ०४ बजे