४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

भरतपुर अस्पतालमा चार सय शय्या निःशुल्क



भरतपुर, २ भदौ :भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड () निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो ।

अस्पतालका प्रवक्ता बरिष्ठ फिजिसियन डा गोविन्द कँडेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी अस्पतालले निःशुल्क शय्या उपलब्ध गराउन सुरु गरेको जानकारी दिनुभयो । उहाँले क्रिटिकल केयर (आईसियू, सिसियू, पिआईसियू, एनआईसियू), पोष्टअपरेटिभ वार्ड, क्याबिन, एचडियु, स्पाइन, कार्डियाक, न्यूरोसर्जरी र अर्थोपेडिक वार्डमा भने न्यूनतम सेवा शुल्क कायम गरिएको बताउनुभयो ।

अस्पतालमा हाल छ सय शैय्या सञ्चालनमा छन् । अस्पतालमा ओपिडि (बहिरङ्ग) सेवाको टिकट पनि निःशुल्क छ । भरतपुर अस्पतालमा देशभरबाट उपचारका लागि बिरामी आउने गर्दछन् । अस्पतालमा पछिल्लो समय दैनिक एक हजार पाँच सयदेखि दुई हजार विरामी उपचारका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताउनुभयो ।

नेचर गाइड एसोसिएसनमा गुरूङ निर्वाचित
नेचर गाइड एसोसिएसन चितवनको अध्यक्षमा अनिलकुमार गुरूङ निर्वाचित हुनुभएको छ । चितवन राष्ट्रिय निकुञ्जलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएका नेचर गाइडको एसोसिएसनको शुक्रबार सौराहामा भएको २३औँ वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

एसोसिएसनको अध्यक्ष पदका लागि चार जनाबीच प्रतिष्पर्धा भएको थियो । गणेश अर्याल, रामचन्द्र सापकोटा र योगप्रसाद लामिछानेलाई पछि पार्दै गुरूङ निर्वाचित हुनुभएको हो । समितिको उपाध्यक्षमा रामगिरप्रसाद चौधरी निर्वाचित हुनुभयो । उहाँले अनिल शिवाकोटीलाई पराजित गर्नुभयो । अन्य पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

समितिको सचिवमा ओमप्रकाश थापा, कोषाध्यक्षमा पुष्पराज पाठक, सदस्यहरूमा दिलिप सुवेदी, जितेन्द्रकुमार सिंह, सम्झना आचार्य तिवारी, सुस्मिता न्यौपाने, सन्तोष क्षेत्री भट्ट, सन्जय ढकाल र बद्रिप्रसाद अर्याल सर्वसम्मत निर्वाचित भएको पूर्वअध्यक्ष विष्णु थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ६ : ११ बजे