४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

म्याद थप्दा पनि भरतपुरको सिटी हल बनेन



भरतपुर, २६ भदौ : चितवनको भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश आयोजना सिटी हलको म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौतानुसार २७ महिनामा सक्ने गरी २०७७ मङ्सिरमा निर्माण थाले पनि सिटी हलको काम हालसम्म ५५ प्रतिशत मात्र सम्पन्न भएको छ ।

काम सम्पन्न हुन अझै एक वर्ष लाग्ने सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख झपटबहादुर थापाले बताउनुभयो । “फागुनसम्म काम नसकिए दोस्रो पटक म्याद थप्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो– “भवन निर्माण गर्न आर्थिक अभाव छैन । विदेशबाट निर्माण सामग्री ल्याउनुपर्ने भएकाले बढी समय लागेको हो ।”

निर्माण आयोजनाका इन्जिनीयर सुदन खतिवडाका अनुसार हाल सिटी हल भित्रको काम भइरहेको छ । भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडिको चार बिघा चार कट्ठा जग्गामा सिटी हल निर्माण भइरहेको छ । दुई हजार व्यक्ति अट्न सक्ने क्षमताको सिटी हल निर्माणको लागत रु ८७ करोड ८९ लाख रहेको छ । सिटी हल बनाउन इन्डो–सगुन–रौताहा जेभी र सघन सहरी तथा भवन निर्माण आयोजना चितवनबीच २०७७ मङ्सिरमा सम्झौता भएको थियो ।

सिटी हलमा सानो र ठूलो गरी दुईवटा हल रहने छन् । सिटी हल बनेपछि भरतपुरमा ठूलासभा, सम्मेलन तथा कार्यक्रम आयोजना गर्न सहज हुनेछ ।

निकुञ्जको सडक निर्माण गर्न ‘डिपिआर’

चितवन राष्ट्रिय निकुञ्जमा कालोपत्रसहितको सडक निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को कामका लागि वन्यजन्तु ट्र्यापिङ क्यामरा जडान गरिएको छ ।

निकुञ्जको धु्रवघाटबाट माडीको रिउसम्म वन्यजन्तुको आवतजावत हुने क्षेत्र निर्धारण गर्न (ट्र्यापिङ) क्यामेरा जडान गरिएको हो । सो क्षेत्रमा १० क्यामेरा जडान गरिएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँले वन्यजन्तु आवतजावतको सङ्ख्या तथ्याङकमा उपलब्ध हुने र त्यसका आधारमा फ्लाइओभर र अन्डरपास निर्माण गर्ने क्षेत्र निर्धारण गरिने बताउनुभयो । क्यामेरा सो क्षेत्रमा १५ दिन राखिनेछन् ।

निकुञ्जमा जनावर मैत्री पूर्वाधार निर्माणका लागि क्यामरा जडान महत्वपूर्ण रहेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । हाल कसरास्थित राप्ती नदीको पुलदेखि ध्रुवघाट हुँदै वनकट्टास्थित रिउ नदीको पुलसम्मको सडक कालोपत्र गर्ने सम्भावना कम रहेकाले विकल्पमा ध्रुवघाटबाट वनकट्टासम्मको सडक अघि बढाउन लागिएको हो । यो सडक झन्डै चार किलोमिटर छोटो हुनेछ । वन मन्त्रालय, हुलाकी सडक आयोजना, निकुञ्ज र जनप्रतिनिधिको टोलीले संयुक्त रुपमा यसको स्थलगत निरीक्षण समेत गरेका छन ।

क्यामराको तथ्याङकका आधारमा डिपिआर निर्माण गर्दा ‘अण्डरपास’ र ‘फ्लाइओभर’ बनाउने क्षेत्र निर्धारण गरिने हुलाकी राजमार्ग आयोजनाका निर्देशक शुभराज न्यौपानेले जानकारी दिनुभयो । उहाँले सडक निर्माणका लागि एकसाथ इआइए र डिपिआरको काम अघि बढेको बताउनुभयो । ध्रुवघाटबाट माडीको रिउसम्म प्रारम्भिकरूपमा सर्भेसमेत गरिने छ । निकुञ्जले क्यामेरा ट्र्यापिङमार्फत वन्यजन्तुको आवतजावको रेकर्ड उपलब्ध गराएपश्चात त्यही तथ्याङ्कका आधारमा डिजाइनको काम अघि बढाइने निर्देशक न्यौपानेले जानकारी दिनुभयो ।

डिपिआर निर्माणका लागि छ महिनादेखि एक वर्षसम्म समय लाग्ने छ । भरतपुरबाट माडी प्रवेश गर्दा चितवन राष्ट्रिय निकुञ्जको नौ किलोमिटर जङ्गल पार गर्नुपर्छ । कसराबाट वनकट्टासम्म (राप्ती–रिउ) कच्ची सडक छ । वन तथा वातावरण मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पहिलेकै बाटो सञ्चालनमा ल्याउने गरी इआइए प्रतिवेदन तयार गर्न सहमति दिएको छ ।

पर्साबाट चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रबाट ठोरी हुँदै नवलपरासीको त्रिवेणी जोड्ने झन्डै ३० किमी बाटो बनाउन, आर्थिक वर्ष २०६८÷६९ मा ठोरीदेखि चितवनको माडी, जगतपुर, मेघौली, कोलवा, बहुवन हुँदै त्रिवेणी जोड्ने हुलाकी बाटोको नक्सा स्वीकृत भएको थियो । दुर्लभ वन्यजन्तु पाइने चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत छ ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  १ : ५१ बजे