६ आश्विन २०८१, आइतबार | September 22, 2024

देउवालाई शेखरकाे चेतावनी- कार्यशैली सुधार्नुभएन भने हामी आफ्नै तरिकाले अघि बढ्छौँ



कांग्रेस संस्थापन इतर नेता शेखर कोइराला सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही निवास पुगेका छन्। भेटमा शेखरले पार्टी सञ्चालनमा देउवाले एकलौटी गरेको आरोप लगाउँदै सच्चिन चेतावनी दिएका हुन्।

नेता कोइराला सभापति देउवा भेट्न उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई सँगै लिएर आज बिहान धुम्बाराही पुगेका थिए। नेता शेखरले मंगलबार मात्रै बालुवाटारस्थित सम्पर्क कार्यालयमा आफ्ना पक्षका पदाधिकारी र केन्द्रीय सदस्यसँग छलफल गरेका थिए।

उक्त छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्नुपर्ने, कांग्रेस नेतृत्वमा सरकार गठन हुनुपर्ने, पार्टी संगठनमा बराबरी भाग दिनुपर्नेलगायत विषय उठेका थिए।

छलफलमा शेखर पक्षीय केन्द्रीय सदस्यले सभापति देउवालाई भेटेर एकलौटी रूपमा पार्टीका निर्णय नगर्न सचेत गराउन कोइरालालाई आग्रह गरेका थिए। संस्थापनइतर समूहको नेतृत्व गर्दै आएका शेखर २०७८ मंसिरको १४औं महाधिवेशनमा सभापतिमा देउवासँग पराजित भएका थिए।

आजको भेटमा सभापति देउवालाई एकलौटी रूपमा पार्टी चलाएको र विधिविधान मिचेको आरोप कोइरालाले लगाएको बताइन्छ। तरुण दल ४०१ सदस्यीय र नेविसंघ ७११ सदस्यीय बनाइएकामा पनि कोइरालाले असन्तुष्टि जनाएको बुझिएको छ।

‘समझदारी गरेर तरुण दल र नेविसंघलाई पूर्णता दिन मसँग नाम माग्नुभएको हो। तर, मैले पठाएका नाम नराखेर ठूलो संख्यामा भ्रातृ संस्थामा मनोनीत किन गरियो?। विधान मिच्ने कुरामा हाम्रो सहमति छैन।’

भेटमा सभापति देउवाले सबैलाई समेटेर अघि बढ्न तयार रहेको जवाफ दिएको शेखरसँगै धुम्बाराही पुगेका उपसभापति धनराज गुरुङले बताए। महाधिवेशन भएको ६ महिनाभित्र गठन गर्नुपर्ने विभाग १९ महिना हुँदासमेत गठन गरिएको छैन।

यस्तै, सभापतिले मनोनीत गर्ने कोषाध्यक्ष, केन्द्रीय सदस्य, विभागलगायत पनि मनोनीत भएका छैनन्। कांग्रेसमा २८ विभाग रहेकामा सभापति देउवाले हालसम्म १६ विभाग प्रमुख मात्रै तोकेका छन्।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ३ : ४३ बजे