६ आश्विन २०८१, आइतबार | September 22, 2024

मुलुकको अर्थतन्त्र सुधार गर्न सबै प्रतिबद्ध हुनुपर्छ : अध्यक्ष ओली



काठमाडौँ, ९ असोज : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासङ्घले आज यहाँ आयोजना गरेको ‘निजी क्षेत्रसँग एमाले’ विषयक अन्तरक्रियामा उहाँले अर्थतन्त्र सुधार गर्नका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।

“अर्थतन्त्र सुधार गरेर छाड्ने कुरामा हामी प्रतिबद्ध रहेका छौँ”, उहाँले भन्नुभयो, “अब ढिलो गर्ने वा पर्खने अवस्था हामीसँग छैन ।” अध्यक्ष ओलीले अहिले सबै देशप्रति गम्भीर हुनुपर्ने अवस्था रहेको भन्दै अहिलेको अवस्थामा सामान्य हिसाबले लिन नहुने बताउनुभयो ।

“सिटामोल खाएर काम लाग्ने स्थिति छैन । एक दिनको ज्वरो पनि हट्दैन”, उहाँले भन्नुभयो, “मुलुकको अर्थतन्त्रको खास उपचार गर्नुपर्दछ । त्यसको लागि हामी सबै गम्भीर बन्नुपर्दछ ।”

देशको अवस्थाप्रति चिन्ता र त्यसबाट उन्मुक्ति कसरी मिल्छ भन्ने कुरामा निजी क्षेत्रसँग मिलेर अगाडि बढ्ने उहाँको धारणा राख्नुभयो । अध्यक्ष ओलीले देश आर्थिक हिसाबले सबल बन्नुपर्ने उल्लेख गर्दै गरिबीबाट नेपाली जनतामाथि उठाउनुपर्ने बताउनुभयो । मानिस धनी हुनुपर्नेमा गरिबी बन्दै गएको भन्दै उहाँले देशलाई परिवर्तन ल्याउनुपर्ने भनाइ राख्नुभयो ।

अहिलेको अवस्थाबाट मुलुक अगाडि बढ्न नसक्ने भन्दै उहाँले अर्थतन्त्रमा सुधारको लक्षण नदेखिएको बताउनुभयो । उद्यमी व्यवसायीले बढी राजनीतिक गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले अहिले सबैको सहकार्यबाट मात्र मुलुक अगाडि बढ्ने बताउनुभयो । उहाँले सरकारी सम्पत्तिलाई निजी बनाउनेलाई सरकारले कारबाही गर्नुपर्ने भनाइ राख्नुभयो । अध्यक्ष ओलीले चलायमान ठाउँमा र वैदेशिक रोजगारबाट आएको मुद्रा थुप्रिएको बताउनुभयो ।

“कतिपय ठाउँमा बजेट छ । तर चलायमान छैन । वैदेशिक मुद्रा पनि थुप्रिएको छ । वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले लिएर जानेबाहेक अरु काम भएको छैन”, उहाँले भन्नुभयो, “चलायमान ठाउँमा थुप्रिएको पैसालाई स्थान्तरण गरेर चलायमान गराउनुपर्दछ ।”

अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि कुनै दिन दबाबमूलक काम गर्ने परे एमालेले अगुवाइ गर्ने बताउनुभयो । उहाँले एमालेलाई सरकारमा जान हतार नभएको भन्दै उहाँले आफूहरु मिसन–२०८४ मा लागेको बताउनुभयो ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ९ : ३५ बजे