१ मंसिर २०८१, शनिबार | November 16, 2024

बागमती प्रदेशलाई आत्मनिर्भर बनाउने नीति : मुख्यमन्त्री जम्कट्टेल



मनहरी (मकवानपुर), २० असोज : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा उद्योग कालकारखाना स्थापना गरी ‘आत्मनिर्भर बागमती’ बनाउने नीति लिएको बताउनुभएको छ । आज हेटौँडामा आयोजित उद्योग परिसङ्घ बागमती प्रदेशको साधारणसभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सरकारले प्रदेशलाई आत्मनिर्भर बनाउने नीति लिएर अगाडि बढेको बताउनुभयो ।

उद्योगीका क्षेत्रमा छलफल गरेर अगाडि बढ्ने बताउँदै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको क्षेत्राकारभित्रका कार्यमा लगानी गरेको दाबी गर्नुभयो । सरकारले कृषि क्षेत्रमा जोड दिने भन्दै विगतमा कृषि क्षेत्र व्यक्ति केन्द्रित भएकाले त्यसको अन्त्य गरेर व्यसायीकरण गर्दै अगाडि बढ्नुपर्ने उहाँले धारणा राख्नुभयो ।

उद्योग कालकारखाना प्रदेश सरकारको मातहतमा नभएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले नयाँ योजनासहित प्रदेश सरकारले डाक्टर र नर्स पढाइ खुलारुपमा गर्ने नीति निर्माण गर्न लागेको बताउनुभयो । “सिटीइभिटीमा १३ हजार विद्यार्थी उत्तीर्ण भए पनि एक हजार तीन सयले मात्र पढ्न सिट पाएका छन्”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले डाक्टर र नर्स पढाइ खुलारुपमा गर्ने योजना बनाइरहेको छ ।”

 

 

 

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ४ : २० बजे