१ आश्विन २०८१, मंगलबार | September 17, 2024

इजरायलमा हमासको आक्रमण : नेपाली पनि घाइते, परराष्ट्र मन्त्रालयमा आपतकालीन बैठक



चरमपन्थी समूह हमासको आक्रमणमा इजरायलमा रहेका नेपाली पनि परेको खबर आएपछि परराष्ट्र मन्त्रालयमा आपतकालीन बैठक बसिरहेको छ।

परराष्ट्रमन्त्री एनपी साउदको उपस्थितिमा इजरायलमा रहेका नेपालीको उद्धारसहितका तत्कालीन योजना तय गर्न बैठक बसेको हो।

हमासको आक्रमणपछि तेल अभिभस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सुरक्षित स्थानमा रहन सचेत गराइसकेको छ।

अहिलेसम्म हमासको आक्रमणमा परेर ७ जना नेपाली घाइते भएको खबर प्राप्त भएको छ।

तर तेल अभिभस्थित नेपाली दूतावासले यसको पुष्टि गरेको छैन।

आस्केलन भन्ने ठाउँमा केही नेपालीहरू घाइते भएको र दूतावासले त्यसको जानकारी आधिकारिक रुपमा लिने प्रयास भइरहेको बताइएको छ। घाइते भएका भनिएकाहरू आस्केलनमा एउटा कृषि फार्ममा लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत पुगेको बुझिएको छ।

यसैबीच दूतावासले अपिलसमेत जारी गरेको छ।

दूतावासले अप्ठ्यारोमा पर्नुभएका नेपाली नागरिकहरूको सहयोग तथा उद्धारका लागि दूतावासले इजरायलका सम्बन्धित  निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको बताएको छ।

‘इजरायलको गाजासँगको सिमाना लगायत विभिन्न क्षेत्रमा हाल द्वन्द्व चलिरहेको सबैलाई जानकारी नै छ। यस्तो अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्नुहुन र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्नुहुन सबै नेपाली समुदायमा अनुरोध छ,’ दूतावासले भनेको छ, ‘साथै, अप्ठ्यारोमा पर्नुभएका नेपाली नागरिकहरूको सहयोग तथा उद्धारका लागि दूतावासले इजरायलका सम्बन्धित  निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको ब्यहोरा अनुरोध छ। पुनश्चः अप्ठ्यारो परिस्थिति छ, हामी सबै त्रसित छौँ। तर पनि यसको नकारात्मक सन्देश जाने गरी सोसल मिडियाहरूमा सेयर गरेर अरूलाई त्रसित र प्यानिक नगराउनुहोला।’

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ८ : १८ बजे