४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

इरानद्वारा हमासको आक्रमणमा ‘प्रत्यक्ष संलग्नता’ अस्वीकार



इरानका लागि संयुक्त राष्ट्रसंघको मिसनले इजरायलमा आतकंवादी समूह हमासले गरेको आक्रमणमा इरान संलग्न नभएको बताएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मिसनले आइतवार एक विज्ञप्ति जारी गरी भनेकाे छ, ‘हामी प्यालेस्टाइनको समर्थनमा दृढताका साथ खडा छौं तर, प्यालेस्टाइनको यो प्रतिक्रियामा हामी संलग्न छैनौं। यो कारबाही प्यालेस्टाइनको तर्फबाट मात्रै गरिएको हो।’

यसअघि हमासले शनिबार भएको आक्रमणमा इरानले सहयोग गरेको बताएको थियो।

इरानले वर्षौंदेखि हमासलाई समर्थन गर्दै आएको छ र लडाकुहरूलाई हतियार र तालिम प्रदान गर्दै आएको छ।

चरमपन्थी समूह हमासले इरानको सहयोगले नियोजित आक्रमण गर्न मद्दत गरेको बताएको थियो।

यता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इरानले सहयाेग गरेकाे कुनै प्रमाण फेला नपरेकाे बताएका थिए।

उनले सिएनएनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘हामीले यस्तो कुनै प्रमाण फेला पारेका छैनौं जसको आधारमा यो आक्रमणको निर्देशन इरानले दिएको हो वा यसको पछाडि इरानको हात रहेको हो भन्न सकिन्छ।’

हमासकाे आक्रमणबाट हालसम्म ७०० जनाकाे मृत्यु र १०० भन्दा धेरै मानिस बन्धक भएकाे इजरायलले जनाएकाे छ।

इजरायलकाे आक्रमणबाट गजामा ४०० भन्दा धेरैकाे मृत्यु भएकाे छ भने २ हजार ३०० भन्दा धेरै घाइते भएका छन्।

 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ११ : २९ बजे