४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

चलचित्र ‘कङ्गारु’ निर्माण गर्दै दीपक मनाङे, निर्देशकमा सम्राट



गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका नेता राजीव गुरुङ ‘दीपक मनाङे’को प्रस्तुतिमा ‘कंगारु’ नामक चलचित्र निर्माण हुने भएको छ ।

यो चलचित्रलाई ‘लाखे’का निर्देशक सम्राट बस्नेतले निर्देशन गर्नेछन् । सस्पेन्स, थ्रिलर र कमेडी जनरामा चलचित्र निर्माण गर्न लागिएको निर्देशक बस्नेतले बताएका छन् । यसअघि उनले निर्देशन गरेको चलचित्र ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो ।

फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मससँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम थापा र धन बहादुर गुरुङको लगानी रहनेछ ।

चलचित्रको सह–निर्मातमा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टिका भण्डारी र सन्तोष अधिकारी(अस्ट्रेलिया) कार्यकारी निर्माता रहने यो चलचित्रको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट(अस्ट्रेलिया) रहेको छ । चलचित्रमा सिमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहेको छ । चलचित्र निर्माणमा लक्ष्मी ज्वेलर्स (यूके)ले पनि सहकार्य गरेको छ ।

चलचित्रको विषयमा निर्देशक बस्नेत भन्छन्–‘मैले लाखेलाई एक्सन जनरामा निर्माण गरेको थिएँ । यसपछि, केही फरक कथा भन्न मन लागेको थियो । यसैले, कंगारुका लागि हामीले स्क्रिप्टमा मात्र २ वर्ष समय लगाएका छौँ । दर्शकले, यसपटक फरक स्वादमा चलचित्र हेर्न पाउनुहुनेछ ।’

चलचित्र लागि विभिन्न कलाकारहरूसँग कुराकानी भएको र चाँडै नै फाइनल गर्ने निर्माणपक्षले बताएको छ । यो चलचित्रको छायांकन फागुनदेखि सुरु हुने बताइएको छ ।

दीपक मनाङेले यसअघि ‘दुई नम्बरी’ चलचित्रमा लगानी गरेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १ : ४४ बजे