३ आश्विन २०८१, बिहिबार | September 19, 2024

आज त्रिविका १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुँदै



काठमाडौं,२ पुस । त्रिभुवन विश्वविद्यालयले आज ४९ औँ दीक्षान्त समारोहको आयोजना गरेको छ । दशरथ रङ्गशालामा हुने दीक्षान्त समारोहको प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल हुने त्रिभूवन विश्वविद्यालयले जनाएको छ यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुने त्रिविले जनाएको छ ।

२०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये १२ हजार ४१५ दीक्षित हुने बताइएको छ । यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गराइँदै छ । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने छ ।

दीक्षान्त समारोहमा ५६ वटा स्टलहरू राखिएको छ । त्यही स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनेछ । एमफील÷पीएचडीका विद्यार्थी र पदक पाउने विद्यार्थीलाई भने स्टलहरूबाट नभई राष्ट्रपतिको हातबाट नै पदक प्रदान गरिनेछ । विद्यार्थीको सङ्ख्या धेरै भएपछि त्रिविलाई कार्यक्रम आयोजना गर्न समस्या पर्दै आएको छ । त्यसैले यो वर्ष कुर्सीको समस्या नहोस् भनेर त्रिविले दशरथ रङ्गशालामा दीक्षान्त समारोहको आयोजना गरेको हो सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘कुलपति पदक’ भने यो वर्षदेखि बन्द भएको छ ।

ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्दै आएको त्रिविले उत्कृष्ट विद्यार्थी पाउन गाह्रो भएको भन्दै पदक बन्द गराएको हो । दीक्षान्त समारोहका लागि पार्किङ स्थल पनि तोकिएको छ । परीक्षा नियन्त्रण कार्यालयले टुँडिखेल, विश्वनिकेतन मावि, वर्ल्ड ड्रेड सेन्टर र राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा पार्किङस्थलत तोकेको हो ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ९ : २९ बजे