४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

गाजामा हमासको आक्रमणमा एकैदिनमा मारिए २४ इजरायली सैनिक



इजरायली सेनाले सोमबार गाजामा आफ्ना २४ सैनिकको मृत्यु भएको बताएको छ । गाजा स्ट्रिपमा हमासविरुद्ध स्थल आक्रमण थालेयताकै घातक दिनमा आफ्ना २४ सेनाको ज्यान गएको इजरायली रक्षा बलले जनाएको हो ।

इजराली सेनाले भवनहरू भत्काउन माइन बम विछ्याएको थियो, त्यही भवनवरपर इजरायली सैनिकहरूले आश्रय लिएका थिए । जब प्यालेस्टाइनी लडाकु समूह हमासले उक्त भवनमा क्षेप्यास्त्र हान्यो, सो विस्फोटनले भवन भत्काउन राखिएको बम विस्फोट हुँदा इजरायली सैनिकहरू मारिएको इजरायली सेनाका प्रवक्ता ड्यानियल हागारीले जनाएका छन् ।

उनका अनुसार अक्टुबर ७ मा दक्षिणी इजरायलबाट अपहरणमा परेका मानिसहरूलाई छुटाउन ती सेनाले भूमिका खेलिरहेका थिए । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने सोमबार इजरायली हमलामा गाजामा १९५ प्यालेस्टाइनीको मृत्यु भएको बताएको छ ।

सेनाले एक विज्ञप्तिमा दुर्घटनामा पर्नेहरू २२–३७ वर्ष उमेरका रिजर्भ सैनिकहरू भएको बताएको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ६ : १२ बजे