४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

विश्वप्रकाशले गगनलाई भने– हाम्रो पुस्ताबाट सबैभन्दा पहिले प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिनुपर्ने मान्छे



काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई आफ्नो पुस्ताबाट सबैभन्दा पहिले प्रधानमन्त्री बनाउनुपर्ने मान्छे भएको बताएका छन्।

शनिबारदेखि समुदायमा कांग्रेस अभियान सुरु भएको छ। त्यसैअन्तर्गत महामन्त्री थापा भद्रपुरस्थित मेची पुलमा आयोजित कार्यक्रममा सहभागी भएका थिए। थापा त्यहाँबाट पश्चिमतर्फ अघि बढ्ने कार्यक्रम छ।

सोही कार्यक्रममा सहभागी महामन्त्री शर्माले सम्बोधन क्रममा भने, ‘आज गगनजी यहाँबाट जाँदै गर्दाखेर उहाँलाई हामी सबैको तर्फबाट अपार प्रेम छ। अपार शुभकामना छ। नेपाललाई नेतृत्व गरेर, नेपाल देशलाई भोलि हाँकेर, यो देशलाई नेतृत्व गरिराखेर जान सक्ने सम्भावना प्रबल भएको मान्छे, हाम्रो पुस्तामा भन्दै गर्दाखेर, आज मैले उभिएर बोल्दै गर्दाखेर, हाम्रो पुस्ताबाट अगाडि सारेर सबैभन्दा पहिले प्रधानमन्त्री पदको जिम्मेवारीमा सुम्पिएर हामीले पठाउनुपर्ने मान्छे, आज यहाँबाट जाँदै गर्दाखेर सबै झापालीहरूको माया र विश्वास, सबैको साथ र समर्थन छ।’

उनले कांग्रेस स्थापनाको ७८ वर्ष पुग्दै गर्दा कांग्रेसमा तरुणहरूको संख्या बढाउनुपर्ने मात्रै नभई, सिंगो कांग्रेसलाई तरुण बनाउनुपर्ने बताए। ‘कांग्रेसलाई भावना र जागरुकताको, नवीन विश्वासको थलो बनाउने कर्ममा तपाईं हामी लाग्नु छ’, उनले भने।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ३ : २५ बजे