३१ भाद्र २०८१, सोमबार | September 16, 2024

संस्कृति संरक्षणमा गैँडाकोटका नेवार समुदाय



नवलपुर, १७ भदौ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका नेवार समुदाय संस्कृति संरक्षणमा एकजुट भएका छन् । कला र संस्कृतिमा धनी मानिने यस समुदायले आफ्नो संस्कृति संरक्षण गर्दै युवा पुस्तामा हास्तान्तरण गर्ने उद्देश्यले विविध कार्यक्रम गर्दै आएका छन् ।

संस्कृति संरक्षण गर्ने उद्देश्यले यहाँका नेवार समुदायले श्रीकृष्ण जन्माष्टमीको दिनमा रोपाइँ जात्रा निकाल्ने भएका छन् । नेवाः पुचः गैँडाकोटले प्रत्येक वर्ष जस्तै यसवर्ष पनि भदौ २० गते रोपाइँ जात्रा आयोजना गर्न लागेको जनाएको छ ।

नेवारी संस्कृतिअनुसार हरेक वर्ष रोपाइँ सकिएको खुसीयालीमा रोपाइँ जात्रा मनाउन थालिएको नेवाः पुचः गैँडाकोटका अध्यक्ष रेशमकुमार श्रेष्ठले बताउनुभयो । नेवारको बाहुल्यता भएका समुदायमा यो पर्वलाई उत्सवका रुपमा मनाउने प्रचलन रहेको उहाँले बताउनुभयो । “हिलोमैलोमा हुने सबै काम सकिएपछि खुसीयाली मनाउनका लागि पो पर्व मनाउने गरिन्छ”, श्रेष्ठले भन्नुभयो, “रोपाइँ गर्ने बेलामा गरिने सबै काम रोपाइँजात्रामा प्रस्तुत गरिन्छ ।”

“रोपाइँ जात्राको दिन बिहान ‘हो पाँचो हो’ (कुनै ठाउँमा रोपाइँ छ भनेर जानकारी दिँदै निम्ता दिइने संस्कृति) गरेर सबैलाई रोपाइँमा निम्ता दिन्छौँ” उहाँले भन्नुभयो, “निम्ता पाएपछि साँझ हली, बाउसे, रोपाहार, गोरु लिएर खेतालाहरु मेला भर्न आउने संस्कृति छ ।”

नेपालीको मुख्य अन्नबाली धान रहेकाले पनि रोपाइँ सकिएपछि थकाइ मार्दै रमाइलो गर्न जात्रा मनाउन थालिएको रोपाइँ जात्रा व्यवस्थापन समितिका संयोजक पूर्णनारायण प्रधानले बताउनुभयो । “जात्रामा धान संस्कृतिको संरक्षणसँगै देशमा व्यप्त बेथितिविरुद्ध पनि हास्य ब्यङ्ग्यात्मक प्रस्तुति रहन्छ”, उहाँले भन्नुभयो, “यो जात्रा मात्रै नभएर नेवार समुदायको पर्व पनि हो ।”

कृषि उत्पादन बढाउँदै धान रोप्नुपर्ने र नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनुपर्ने सन्देश दिनका लागि पनि यो जात्रा मनाउन थालिएको उहाँको भनाइ थियो । नेवार समुदायमा महः पूजा, लाखे नाच, गाई जात्रा, रोपाइँजात्रा, यमोरी पुन्हीलगायत धेरै पर्व रहेका उल्लेख गर्दै संयोजक प्रधानले यी सबै कला, संस्कृति संरक्षणमा युवा पुस्तालाई जिम्मेवार बनाउने उद्देश्यले पनि समुदाय एकजुट भएको बताउनुभयो ।

नारायणी नवदुर्गा भवानी मन्दिरका अध्यक्ष अमृत श्रेष्ठले रोपाइँ जात्रासहित समुदायले स्थानीयस्तरमा मनाउने कला र संस्कृतिलाई स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । “आफ्नो कला र संस्कृतिबारे बालबालिकाले विद्यालय तहमा नै अध्ययन गर्न पाए उनीहरु आफ्नो संस्कृतिबारे थप परिचित हुन्छन्”, उहाँले भन्नुभयो, “पालिकाभित्र मनाइने मुख्यमुख्य पर्वहरुका बारेमा स्थानीय पाठ्यक्रममा समावेश गरेर विद्यार्थीलाई अध्ययन गराउनुपर्छ ।”

रोपाइँ जात्राले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने भन्दै श्रेष्ठले नेवारी गुठीमा आवद्ध सबै गुठियार तथा अन्य समुदायका व्यक्तिसमेत जात्रामा सहभागी हुने बताउनुभयो । खेतीयोग्य जमिनमा प्लटिङ हुँदै जाँदा धान उत्पादन घटेको भन्दै उहाँले यस्ता विकृतिको अन्त्य गरेर खेतीयोग्य जमिनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

गैँडाकोटमा आयोजित पत्रकार सम्मेलनमा गैँडाकोट–२ का वडाध्यक्ष प्रकाश सापकोटाले पछिल्ला पुस्तालाई आफ्नो कला र संस्कृतिबारे बुझाउँदै संरक्षणमा लगाउनुपर्ने बताउनुभयो । “हाम्रो कला र संस्कृति हामी आफैले जोगाउनुपर्छ” उहाँले भन्नुभयो, “समुदायको साथ र सहयोग रह्यो भने यसमा स्थानीय सरकारको पूर्ण समर्थन र सहयोग हुन्छ ।”

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १ : २२ बजे