४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

बासेन्जीः नेपालको पहिलो भिडियो गेम शैलीको फिल्म



काठमाडौं– सामान्यतया भिडियो गेममा प्रथम पुरुष (आफ्नो आँखाले जे देखेको छ त्यही) तथा तृतीय पुरुष (आफ्नो अगाडि जो छ त्यही) मा पात्रहरूलाई यता–उता गराएको खेल खेलिन्छ । यो शैली सन् ९० को दशकदेखि नै भिडियो गेममा प्रचलनमा आइरहेको छ ।

यद्यपि, तर यही असोज २६ गते प्रदर्शन हुन लागेको फिल्म ‘बासेन्जी’ नेपाली फिल्म क्षेत्रमा पहिलो पटक भिडियो गेममा देखिने प्रस्तुतिकरण हेर्न पाइने भएको छ ।

अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टको निर्देशनमा गौरीशङ्कर इन्टरटेनमेन्टबाट सुरज मैनालीको निर्माणमा बनेको ‘बासेन्जी’ हरर जनरामा निर्माण गरिएको फिल्म हो ।

यो फिल्म प्रवेश पात्रको आँखाबाट र उसैलाई केन्द्रीय पात्र बनाई देखाइएको छ । उनका बुवालाई कृषि विषयमा खोज पत्रकारिता गरेको निहुँमा बरखास्त गरिएपछि प्रवेश पात्र पश्चिम नेपालबाट काठमाडौं आएका छन् ।

यसै सिलसिलामा उनले आकाश पात्रलाई भेट्छन्, जसले आफ्नो मनमा उठेका आँधीलाई शान्त पार्न काठमाडौं नजिकको गाउँमा जान सल्लाह दिन्छ । अनि प्रारम्भ हुन्छ डरलाग्दा, रौं खडा गर्ने खालका घटनाको सिलसिला । यो नै ‘बासेन्जी’ चलचित्रको मुख्य विषय हो । र यही प्रवेश पात्रको आँखाबाट प्रथम पुरुष र उनलाई हेर्नका लागि तृतीय पुरुष क्यामरा राखेर फिल्मको निर्माण गरिएको छ ।

यसअघि ‘म्याङ्गो पिक्कल’ (आँपको अचार) फिल्म निर्देशन गरेका इयक स्कट क्लेमेन्ट नेपाली परिवेश र नेपाली जीवनबाट प्रभावित भई नेपालमा नै फिल्म निर्देशन गर्ने धोको बोकेका फिल्मकर्मी हुन् ।

‘आँपको अचार’ फिल्म आफ्ना मित्रहरूसँगको सहकार्यमा निर्माण गरिएको फिल्म पश्चात् गौरीशङ्कर इन्टरटेनमेन्टसँग आबद्ध सुरज मैनाली र गौरव बस्नेतसँग मिलेर क्लेमेन्टले ‘बासेन्जी’ फिल्मको लेखन कार्य गरेका हुन् ।

यो फिल्ममा प्रवेशको भूमिकामा कलाकार असिम निरौला आबद्ध छन् भने आकाशको भूमिकामा सुप्रिम राई छन् । वरिष्ठ कलाकार मिथिला शर्मा र सरिता गिरीको पनि यो फिल्ममा प्रमुख भूमिका रहेको छ ।

निर्देशक क्लेमेन्ट भन्छन् – ‘नेपाली फिल्ममा यो यस्तो प्रयोग हो, जुन हालसम्म गरिएकै छैन । हामीले प्रथम पुरुषको दृष्टिकोणका लागि टाउकोमा क्यामरा राख्ने विशेष उपकरण तयार पारेका थियौं, जसले पात्रको परिप्रेक्ष्यबाट उसको संसार देखाइन सकियोस् । त्यसै गरी तृतीय पुरुषको दृष्टिकोण देखाउनका लागि गिम्बल प्रयोग गरेका छौं, जसले पात्रलाई नजिकैबाट नियालेर वा उसको हाउ–भाउ नियालेर हेर्न सकियोस् । मलाई पूरा विश्वास छ, हामीले नेपाली दर्शकलाई केही नयाँ पस्किन पूर्ण सफल भएका छौं ।’

‘बासेन्जी’ यही असोज २६ गतेका दिन नेपालभरि नै प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ३ : २६ बजे