३ आश्विन २०८१, बिहिबार | September 19, 2024

एएफसी एसियन कप छनोट खेल्ने फुटसल खेलाडीलाई बिदाई



काठमाडौं । एएफसी एसियन कप छनोट खेल्न मंगोलिया जान लागेका फुटसल खेलाडीलाई एन्फाले बिदाई गरेको छ ।

बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय टोलीलाई बिदाई गरेका हुन् । असोज २० देखि २३ गतेसम्म मंगोलियामा फुटसलको एसियन कप छनोटका खेल हुँदै छन् । त्यसका लागि नेपाली टोलीले बन्द प्रशिक्षण सम्पन्न गरिसकेको छ ।

बिदाई कार्यक्रममा मुख्य प्रशिक्षक गौरव बस्नेतले एसियन कप छनोट समूहमा बलियो टीम भएपनि बलियो प्रतिष्पर्धीका साथ खेलमा उत्रने बताए । उनले नेपालमा फुटसलको लिग र पर्याप्त खेल नभएका कारण अनुभव बटुल्ने मौका पाउन नसकेको बताए ।

त्यस्तै नेपाली टोलीका कप्तान मणिकुमार लामाले पहिलो चरण खेल्ने टीमलाई बलियो चुनौती दिने बताए । तयारी गर्ने समय कम भएपनि राम्रो नजिता आउने उनले बताए ।

छनोट प्रतियोगितामा विभिन्न ३१ राष्ट्र सहभागी छन् । यसलाई विभिन्न आठ समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा भियतनाम, दक्षिण कोरिया र मङ्गोलिया रहेका छन् । प्रत्येक समूहका शीर्ष स्थान हासिल गर्ने टोली एएफसी फुटसल एसियन कपका लागि छनोट हुनेछन् । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट सात उपविजेता टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ५ : ४७ बजे