६ आश्विन २०८१, आइतबार | September 22, 2024

कामै नगरी लिन्छन् ५० प्रतिशत जोखिम भत्ता वीरका अस्पतालका चिकित्सकले



जेठ-११

चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान (वीर अस्पताल) ३३६ चिकित्सक कार्यरत छन् । त्यसमध्ये १५ प्रतिशत चिकित्सक मात्रै निर्धारित समयसम्म अस्पतालमा सेवा दिइरहेका हुन्छन् ।

बाँकी ८५ प्रतिशत कर्मचारी बिहान ढिलो पुग्छन्, कि त बेलुका चाँडै निस्किन्छन् । अधिंकाश चिकित्सक ११ बजे अस्पताल पुग्छन् र २–३ बजे हिडिसकेका हुन्छन् । उक्त तथ्य अस्पतालको हाजिरीले पनि पुष्टि गरेको छ ।

अस्पतालमा तोकिएको समय बिहान ९ देखि बेलुका ५ बजेसम्म हो । अस्पताल प्रशासनले बिहान एक घण्टा चाँडै आएको थप ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउँछ । शुक्रबार भने दुई घण्टा थप काम गर्नुपर्छ । यसरी हेर्दा महिनाको ३२ घण्टा थप काम गर्नेले जोखिम भत्ता पाउनेछन् ।

अस्पतालमा बिरामीको चाप धेरैजसो बिहान साढे १० देखि १२ः३० बजेसम्म हुन्छ । त्यस्तै, दिँउसो साढे २ देखि साढे ३ बजेसम्म हुन्छ ।

तर, चिकित्सकहरु भने निर्धारित समयभर अस्पतालमा उपलब्ध हुँदैनन् । बुधबार दिउँसो अनलाइनखबर संवाददाता अस्पतालमा पुग्दा रौतहटका ४० बर्षीय राजेन्द्र गौतम चिकित्सक नभएका कारणले घर फर्किदै थिए । ‘बिहान पालो बस्दा–बस्दा हैरान हुन्छ । दिँउसो अलि खाली हुन्छ कि भनेर आएको डाक्टर त हिँडिसक्नु भएको रहेछ’, गौतमले अनलाइखबरसँग गुनासो गरे, ‘हामीजस्ता गरिबले वीरमा सेवा नपाए कहाँ जाने ?’

विशेषज्ञ चिकित्सक बिहानै हाजिर लगाएर निजी अस्पताल वा क्लिनिकमै काम गर्न व्यस्त हुने परम्परा बर्षौंदेखि चल्दै आएको छ । ‘हिजो मात्रै तीन जना चिकित्सक बाहिर बाटोमा गाडी रोकेर अस्पतालमा हाजिर गरेर निस्किनुभयो’ वीरको एक कर्मचारी भन्छन्, ‘सरकारको नुन खाएर नै अस्पताल समयमा निजीमा गएर सेवा दिनु भनेको अपराध होइन र !’

विशेषज्ञ चिकित्सक मात्रै होइन, यसरी काम ठग्ने प्रवृत्ति केही सिनियर नर्स र बर्र्षौदेखि अस्पतालमा हालमुहाली चलाएर बसेका केही स्वास्थ्यकर्मी पनि छन् ।

यसरी हेर्दा, मेडिकल अफिसर, छात्रवृत्तिका करार र सरकारी संस्थालाई बलियो बनाउनुपर्छ धैर्य राखेका न्यून संख्याका विशेषज्ञ चिकित्सकले वीरको सेवा धानिरहेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ९ : १५ बजे