२ आश्विन २०८१, बुधबार | September 18, 2024

यशराजले तोक्यो ‘पठान’को नेपाल राइट डेढ करोड भारु



काठमाडौं । शाहरुख खानको आगामी फिल्म ‘पठान’को नेपाल अधिकार खरिद गर्न वितरकमाझ होडबाजी सुरु भएको छ । यशराज फिल्म्सले नेपाल राइटको मूल्य १ करोड ५० लाख भारु तोकेको छ । ट्रेलर रिलिज भएसँगै फिल्म ल्याउन नेपालका चार वितरण कम्पनीले अग्रसरता लिएका छन् ।

जसमा सुनिल मानन्धर, गोपीकृष्ण मुभिज, एबी फिल्म्स र एप्पल इन्टरटेनमेन्ट छन् । यशराजले उक्त मूल्य तोके पनि अग्रसरता लिएका केही कम्पनीले १ करोड २५ लाख भारु मूल्यको प्रस्ताव राखेका छन् । ट्रेलर रिलिज भएको र त्यसको अनुमानमा यो फिल्मको ओपनिङ राम्रो हुने देखेर वितरकले उक्त मूल्य प्रस्ताव गरेको जनाइएको छ । वितरकमाझ सबैभन्दा सस्तो मूल्यमा कसले राइट लिने भन्ने प्रतिस्पर्धा हुने गर्छ । हालसम्म नेपालमा महंगो मूल्य तिरेर ल्याइएको भारतीय फिल्म केजीएफ च्याप्टर २ हो, जसको खरिद मूल्य २ करोड २५ लाख रुपैयाँ थियो ।

पठान’ खरिदमा अग्रसर एक वितरकले अनलाइनखबरसँग भने, ‘हामीले १.२५ करोड भारुमा प्रस्ताव गरेका छौं । यशराजले डेढ करोड भारुको रेट तोके पनि मूल्य अझै घट्न सक्छ ।’ ट्रेलरको भव्य प्रतिक्रिया नआएका कारण मूल्य घट्न सक्ने अनुमान ती वितरकले गरे । ‘पठान’को हाइप राम्रो भए पनि यदि समीक्षा नकारात्मक आउँदा लगानी डुब्ने जोखिमको संशय वितरकमाझ देखिन्छ । तर पाँच वर्षपछि शाहरुखको फिल्म रिलिज हुन लागेकाले फिल्मको ओपनिङ राम्रो हुने ठम्याइ उनीहरुको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ४ : ४८ बजे