२ आश्विन २०८१, बुधबार | September 18, 2024

‘आरआरआर’ को ‘नाटु-नाटु’ले जित्यो गोल्डेन ग्लोब अवार्ड



काठमाडौँ — एसएस राजामौली निर्देशित चलचित्र ‘आरआरआर’ को ‘नाटु-नाटु’ गीतले गोल्डेन ग्लोब अवार्ड जितेको छ । गोल्डेन ग्लोबको ८०औं संस्करणमा ‘नाटु-नाटु’ गीतले ‘बेस्ट ओरिजिनलन संग मोसन पिक्चर’ को अवार्ड हात पारेको हो ।

जुनियर एनटीआर र रामचरण अभिनय रहेको चलचित्रको यो गीत पनि विश्वभर मन पराइएको थियो । चन्द्रबोशको शब्द रहेको तेलुगु भाषाको यस गीतको कम्पोज भने एमएम कीरवणीले गरेका हुन् । त्यस्तै यस गीतमा स्वर दिएका छन् राहुल सिपलीगन्ज र काल भैरवले ।

‘नाटु-नाटु’ अर्थात ‘नाच-नाच’ बोलको यो गीतले बालबालिकादेखि बुढाबुढीसम्मलाई मनोरञ्जन दिइरहेको छ । एनटीआर र रामचरणको नृत्य नक्कल गर्दै बनाइएका भिडियोहरू पनि भाइरल भइरहेका छन् । गोल्डेन ग्लोब अवार्ड जितेको यो गीत अस्कर अवार्डमा पनि ‘ओरिजिनल संग’ को विधाको सर्टलिस्टमा परेको छ ।

गोल्डेन ग्लोबमा भने यसले ‘ह्वेर द क्रड्याड्स सिंग’को ‘क्यारोलाइना’लगायतका चर्चित गीतलाई पछि पार्दै अवार्ड जितेको हो । जुन गीतलाई टेलर स्विफ्टले गाएकी छिन् । त्यस्तै यस विधाको सर्टलिस्टमा ‘गुइलेर्मो डेल टोरो’ज पिनोचियो’ को ‘चाओ पापा’, ‘टप गन: मेभरिक’ को ‘होल्ड माई ह्यान्ड’ र ‘ब्ल्याक प्यान्थर : वाकन्डा फरइभर’ को ‘लिफ्ट मि अप’ गीत पनि रहेका थिए ।

आरआरआर’ गोल्डेन ग्लोबको दुई वटा विधामा मनोनयनमा परेको थियो । चलचित्रलाई सर्वश्रेष्ठ गैरअंग्रेजी फिल्मको विधामा पनि मनोनीत गरिएको थियो । तर यस विधामा भने अर्जेन्टिनी फिल्म ‘अर्जेन्टिना, १९८५’ ले जित हात पारेको छ ।

भारतीय बक्सअफिसमा विभिन्न रेकर्ड तोडेको ‘आरआरआर’ ले विश्वभरबाट झन्डै १२ सय करोड भारतीय रुपैयाँ कमाएको छ । यो फिल्म जापानमा पनि सबैभन्दा बढी कमाउने भारतीय फिल्म बनेको थियो ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ५ : ३२ बजे