६ आश्विन २०८१, आइतबार | September 22, 2024

युवाहरूमाथि सिङ्गो राष्ट्रको भरोसा छ: प्रधानमन्त्री दाहाल



काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवामाथि सिङ्गो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् ।

बिहीबार बिहान काठमाडौँको टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवामाथि भरोसा भएको बताएका हुन् ।

‘सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईँहरूले आफ्नो मनोबल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सबल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्त्वपूर्ण छ,’ उनले भने ।

देशभित्र विद्यमान विविध भाषा, संस्कृति, भेषभुषा एवं विशेषताहरूको जानकारीले आफ्नो देशप्रतिको गौरव बढाउनुका साथै राष्ट्रिय एकताको भावनामा थप प्रतिबद्धताको विकास हुने विश्वास लिएको पनि उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले युवाहरूको शारीरिक, मानसिक, बौद्धिक विकासका निम्ति सरकार निरन्तर क्रियाशील रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ७ : १५ बजे