१ आश्विन २०८१, मंगलबार | September 17, 2024

पशु चौपायमा खोरेत रोगविरुद्धको खोप अभियान सुरु



चैत्र-१४

जिल्लामा पशु चौपायमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान सुरु गरिएको छ । यहाँका सात पालिकामा एकैपटक अभियान सुरु गरिएको हो ।    
    
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार जिल्लाका सबै पालिकामा अभियानका लागि आवश्यक सामग्री पठाइसकिएको छ । सातवटै पालिकाले खोप लगाउन सुरु गरेको उहाँले बताउनुभयो । पहिलो चरणमा ५५ हजार डोज खोप सात पालिकामा पठाइएको उहाँले जानकारी दिनुभयो ।    
    
गाई, भैँसी, बङ्गुर, बाख्रा र भेँडामा यो रोग देखिने गरेको उहाँले बताउनुभयो । ती पशु चौपायमा खोरेत विरुद्धको खोप लगाइने उहाँको भनाइ छ । यीमध्ये गाई भैँसीमा बढी सङ्ख्यामा खोरेतको समस्या देखिने गरेको छ ।    
    
खोरेत रोग लाग्दा पशु चौपायामा १०४ देखि १०६ डिग्रीसम्मको ज्वरो आउने, घाँसपात नखाने, झोक्राउने, गिँजा र जिब्रोमा स–साना फोका आउने, खुट्टाको खुरको कापमासमेत फोका आउने, मुख वरिपरि घाउ आउने भएकाले ¥याल चुहिने, ब्याउने माउ गर्भ तुहिने समस्या देखिने, दूध दिइरहेको चौपायामा थुनेलोको समस्या देखिने जस्ता लक्ष्यण देखापर्ने उहाँले बताउनुभयो ।    
    
रोग लागेमा मुखको घाउमा पोटास पानीले सफा गरिदिने वा फिटकिरी पानीले सफा गर्ने, खुरका घाउलाई पोटास पानीले धोएर औषधि प्रयोग गर्न उहाँ सुझाव दिनुभयो । निलो तुथोले घाउ सफा गर्ने, घाउमा अन्य जीवाणु प्रवेश गरी थप सङ्क्रमण नहोस् भन्नका लागि एन्टिबायोटिक सुई लगाउने, खोरेत देखिइरहने ठाउँमा रोकथामको लागि खोरेत विरुद्धको खोप लगाउने गर्नुपर्ने न्यौपानेले बताउनुभयो ।    
    
यही अभियानका क्रममा जिल्लाका दुईवटा वडामा खोरेत रोगमुक्त कार्यक्रमसमेत सुरु गरिएको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका वडा नं ६ र रत्ननगर नगरपालिका–१२ मा कार्यक्रम सुरु गरिएको हो । दुई पालिकाका दुईवटा वडामा कार्यक्रम सञ्चालनका लागि रु २० लाख बजेट विनियोजन गरिएको छ । दुई वडामा १० हजार डोज खोरेतविरुद्धको भ्याक्सिन लगाइनेछ ।    

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  १० : ३७ बजे