२ आश्विन २०८१, बुधबार | September 18, 2024

ओझेलमा मुस्ताङको छैरो छहरा गुम्बा   



चैत्र ,१९   
हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरो गाउँस्थित छैरो छहरा गुम्बा ओझेलमा परेको छ । पाँच शताब्दी पुरानो धार्मिक तीर्थस्थल उक्त गुम्बप्रचारप्रसारको अभावमा गुमनाम बनेको छ ।    
    
 बेनी–जोमसोम–कोरोला सडक खण्डअन्तर्गत मुस्ताङको घरपझोङ–२ मार्फाको पारिपट्टि अवस्थित उक्त गुम्बा हालसम्म सडक सञ्जालसित जोडिएको छैन । धार्मिक आस्था र विश्वासकै कारण यहाँ बर्सेनि ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेका स्थानीयवासी बताउँछन् । यहाँ झण्डै ५० परिवारको बसोबास छ ।    
    
 छैरो छहरा गुम्बा मुस्ताङकै पुरानो हो । भौगोलिक विकटताका कारण सो गुम्बा ओझेलमा परेको छ । त्यसैले यसको उन्नयन हुन नसकेको स्थानीय सोमप्रसाद शेरचन बताउनुहुन्छ । “आर्थिक अवस्था कमजोर यहाँका बासिन्दा रोजगारका लागि अन्यत्र जाने गरेका छन्”, उहाँले भन्नुभयो । स्थानीयको बसाइँसराइका कारण गुम्बाको संरक्षण हुन सकेको छैन । गाउँको पनि विकास हुन नसकेको शेरचन बताउनुहुन्छ ।    
    
 पछिल्लो समय गुम्बाको महत्वलाई बुझेर यसको संरक्षण र विकासमा चासो बढेको छ । “वर्षौँअघि देव (लामा) नृत्य गरिएको थियो”, उहाँले भन्नुभयो । केही वर्षयता पछिल्ला स्थानीय तह, प्रदेश र सङ्घले पूर्वाधार निर्माणमा सहयोग गर्दैआएका छन् । गुम्बामा पाँच शताब्दी पुराना वास्तुकला, भगवान् गौतमबुद्धका मूर्ति रहेका छन् । गुरु रिन्पोन्छेको विशाल मूर्तिले गुम्बाको गरिमा र महत्व बढाएको छ । गुम्बाको वरिपरिको क्षेत्र धूपीका रुखले ढाकिएको छ ।    
    
 स्थानीय र प्रदेश सरकारले छुट्याएको बजेटबाट यहाँ गुम्बालगायत संरचना पुनःनिर्माण गरिएका छन् । गुम्बाको ऐतिहासिक पक्षको प्रचारप्रसार गर्न सके मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने यहाँका बासिन्दा बताउँछन् । गुम्बाको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । गुम्बाका लामा रामु थकाली पछिल्लो समय बौद्ध धर्मावलम्बीको आगमनमा वृद्धि हुँदै गएको बताउनुहुन्छ ।    
    
 छैरोकापूर्व गाउँका मुखिया कृष्णबहादुर गौचनका अनुसार यहाँ घ्यल्बो पूजा र गाउँको रक्षाको कामना गर्दै प्रत्येक तीन÷तीन वर्षमा ऋनन्जी पूजापाठ हुने गरेको छ । छैरो छहरा गुम्बा वैशाख पहिलो सातादेखि मङ्सिर महिनाभर पूजापाठका लागि खुला हुन्छ । घरपझोङ–१ छैरोका वडाध्यक्ष आशबहादुर थकालीका अनुसार गुम्बा करिब २० रोपनी क्षेत्रफलमा फैलिएको छ ।    

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ११ : २५ बजे