८ आश्विन २०८१, मंगलबार | September 25, 2024

स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्छ : महामन्त्री थापा



चैत्र -३०

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्ने बताउनुभएको छ ।    
    
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपाली कांग्रेस रुपान्तरणको एजेण्डा ः के र कसरी ?’ कार्यक्रममा उहाँले नयाँ युगमा पार्टीलाई नयाँ ढङ्गले सञ्चालन गर्नुपर्ने बताउनुभएको हो । “पार्टीलाई व्यवस्थित ढङ्गबाट अगाडि बढाउन आत्मसमीक्षा, शुद्धिकरण, आत्मपरीक्षण र आत्मसम्मान जरुरी छ”, उहाँले भन्नुभयो ।    
    
महामन्त्री थापाले पार्टीका भ्रातृ संस्था र विभागले चाँडै पूर्णता पाउने बताउनुभयो । भ्रातृ तथा शुभेच्छुक संस्था र पार्टीबीच कस्तो सम्बन्ध रहन्छ भन्नेबारे नीति अधिवेशनमा छलफल गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले कांग्रेसको अबको विचार, अबको बाटो, सङ्गठन सञ्चालनको अवस्थालगायतका बारेमा नीति अधिवेशनमा छलफल हुने बताउनुभयो । पार्टीभित्र महाधिवेशनको समयमा नभइ अरु बेलामा क्रियाशील सदस्यता खुलाउने गरी तयारी भइरहेको उहाँको भनाइ थियो ।    
    
महामन्त्री थापाले आठ लाख क्रियाशिल सदस्य भएको कांग्रेसभित्र सबै व्यक्तिलाई पद नहुँदा आक्रोश र कुण्ठा रहेको उल्लेख गर्दै उक्त आक्रोश र कुण्ठालाई सही ढङ्गले व्यवस्थापन हुनुपर्ने बताउनुभयो । उहाँले सपना बोकेर हुर्किरहेको कोही पनि नागरिकले आफ्नो सपनालाई मारेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सरकार र राजनीतिक दल गम्भीर बन्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।    
    
उहाँले नयाँ स्थापना भएका पार्टीभित्र नयाँ युवा आउनु र पुरानो पार्टीभित्र पुराना नेता हुनु स्वभाविक भएको जनाउँदै नयाँ र पुराना पुस्तालाई मिलाएर कांग्रेस अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका अध्यक्ष मधु आचार्यले विधान प्रणाली, सदस्यता प्रणाली, प्रतिनिधित्व प्रणाली र उम्मेदवार निर्धारण प्रणाली सही ढङ्गले अगाडि बढ्न सके कांग्रेस रुपान्तरणमा सहयोग पुग्ने बताउनुभयो ।    
    
उहाँले कांग्रेससँग जनताले ठूलो अपेक्षा राखेको जनाउँदै उक्त अपेक्षालाई पूरा गर्न नेतृत्व लाग्नुपर्ने बताउनुभयो । कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र देखिएको गुट, उपगुटको अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष आचार्यले पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउनका लागि नीति अधिवेशन, महासमिति बैठक तत्काल बोलाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।    
    
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका उपाध्यक्ष डा विष्णुशङ्कर पौडेलले कांग्रेसले युवा महामन्त्रीसँग पार्टी रुपान्तरणको आश राखेको बताउनुभयो । उहाँले युवाले नयाँ एजेण्डा खोजेकाले त्यसलाई पूरा गर्न वर्तमान नेतृत्व लाग्नुपर्ने बताउनुभयो । सोही कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेश सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष एवं सदस्यको सहभागिता रहेको थियो ।    
–––  

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ६ : १० बजे