२ आश्विन २०८१, बुधबार | September 18, 2024

७ वटा सहकारीविरुद्ध ठगी गरेको आरोप



जेठ-२५

बागमती प्रदेशका ७ वटा सहकारीविरुद्ध ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ । बागमती प्रदेश कार्यक्षेत्र रहेर काम गरिरहेका सहकारीहरु विरुद्ध प्राप्त उजुरीका आधारमा ठगी मुद्दा अन्तर्गत केन्द्रीय अनुसन्धन व्युरो (सीआईबी) काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी महाशाखामा प्राप्त उजुरीका आधारमा सीआईबीलाई पत्राचार गरिएको थियो । सोही आधारमा सीआईबीले अनुसन्धान गरिरहेको हो ।
महाशाखामा प्राप्त उजुरीहरु माथि छलफल तथा समस्या समाधानका लागि ती सहकारीका सञ्चालकहरुलाई सम्पर्कमा ल्याउने पटकपटक गरेको प्रयास असफल भएपछि अनुसन्धानका लागि सीआईबी समक्ष पत्राचार गरेको पर्यटन, उद्योग तथा सहकारी विकास मन्त्रालयका सहकारी महाशाखा प्रमुख एवम् रजिष्ट्रार राधाकृष्ण खतिवडाले जानकारी दिए ।
प्रहरी र सीआईबीमा गरेर २० वटा सहकारीमाथि अनुसन्धान भइरहेको उनले बताए । अनुसन्धानमा तानिएका सम्पूर्ण सहकारीहरु काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय स्थापना गरी काम गरिरहेको उनको भनाइ छ ।
खतिवडाका अनुसार महाशाखा मार्फत् प्रदेशलाई कार्यक्षेत्र बनाएका अन्य १३ सहकारीका सञ्चालक खोजी कार्यका लागि प्रहरी समक्ष उजुरी पठाइएको छ । महाशाखामा प्राप्त उजुरीलाई प्रक्रियागत रुपमा अघि बढाउँदा सम्पर्कमै नआएका, कार्यालय बन्द गरेर भागेका सञ्चालकहरुलाई खोज्ने कार्यका लागि प्रहरीलाई आग्रह गरिएको उनले बताए ।

जनप्रेम बचत तथा ऋण सहकारी संस्था लिमिटेड (गोलढुंगा, काठमाडौं), भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (तिनकुने, काठमाडौं), जयअम्बे बचत तथा ऋण सहकारी संस्था लिमिटेड (टोखा, काठमाडौं), विशुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड (स्यूचाटार, काठमाडौं), हिउँचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड (महाराजगंज, काठमाडौं), लवकुश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (पकनाजोल, काठमाडौं), युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (न्यूरोड, काठमाडौं), राष्ट्रप्रेम बचत तथा ऋण सहकारी संस्था लिमिटेड (बांगेमुढा, काठमाडौं), गतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड (काठमाडौं) विरुद्धका उजुरी अनुसन्धानका लागि व्यूरो र प्रहरीसमक्ष पठाइएको छ ।

त्यस्तै सिभिल सेभिङ एण्ड कोअपरेटिभ लिमिटेड (काठमाडौं), स्मृति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, (पुतलीसडक, काठमाडौं), ए. बी. सी. बचत तथा ऋण सहकारी संस्था लिमिटेड (काठमाडौं), अक्षता बचत तथा ऋण सहकारी संस्था लिमिटेड (काठमाडौं), मञ्जरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (सातदोबाटो ललितपुर), राइजिङ अप बचत तथा ऋण सहकारी संस्था लिमिटेड (काठमाडौं), सन्ध्या बचत तथा ऋण सहकारी संस्था लिमिटेड (ललितपुर), रियल गोर्खा बचत तथा ऋण सहकारी संस्था लिमिटेड (काठमाडौं), विश्वास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (काठमाडौं), भद्रकाली कृषि सहकारी संस्था लिमिटेड (काठमाडौं) र एभर ट्रष्ट सहकारी संस्था लिमिटेड (चाबहिल, काठमाडौं) माथि परेका उजुरी पनि प्रहरीलाई जिम्मा लगाइएको हो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ८ : ३९ बजे