४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

आज देखि थ्रीस्टार हाइड्रोपावरको आइपिओ खुल्यो



थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले असार ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने असार १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत अर्थात् १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको साधारण सेयर निष्कासन सार्वजनिक निष्कासनको लागि छुट्याएको छ।सो मध्ये ४ करोड ९२ लाख ५० हजार रकम बराबारको ४ लाख ९२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिसकेको छ।

कम्पनीले बाँकी रहेको १५ प्रतिशत अर्थात ७ करोड ३८ लाख ७५ हजार रूपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्येको १० प्रतिशत ७३ हजार ८७५ कित्ता श्रम स्वीकृती प्राप्त गरी विदेशी रोजगारीमा गएका नेपालीलाई र ३६ हजार ९३८ कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँडफाँट गरिसकेको छ र बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ता आइपिओ  सर्वसाधारणका लागि कम्पनीले निष्कासन गरेको हो।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले थ्रीस्टार हाइड्रोपावरको आईपीओलाई ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्चस्तरको जोखिम रहेको संकेत गर्छ । यसको प्रतिसेयर आम्दानी पुससम्मको वित्तीय विवरण अनुसार ७ रुपैयाँ ४४ पैसा रहेको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  १२ : ४७ बजे