२ आश्विन २०८१, बुधबार | September 18, 2024

आजदेखि साफ च्याम्पियनसिप, कुवेतसँग भिड्दै नेपाल



दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजबाट भारतमा सुरू हुँदैछ।

भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। कुवेत आमन्त्रित टिमको रुपमा साफमा सहभागी भएको हो।

छोटो तयारीकाबीच भारत पुगेको नेपालका लागि यस संस्करणमा कठिन चुनौती छ।

यद्यपी प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नेपाली टिम कठिन चुनौतीको सामना गर्न तयार भएको बताएका छन्।

नेपाल र कुवेतबीच सन् २०१९ यता पाँच खेल भएका छन्। सन् २०१९ मा कुवेतमा भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेपछि चार खेलमा कुवेतले जित निकालेको छ। गत वर्ष एसियन कपको छनोटमा कुवेतले नेपालमाथि ४-१ गोलको जित निकालेको थियो।

नेपाली राष्ट्रिय फुटबल टिम गत साता फिलिपिन्ससँग मैत्रीपूर्ण खेलेपछि साफ च्याम्पियनसिपमा भाग लिन नेपाली टिम भारतमा पुगेको थियो।

प्रशिक्षक एनेसेले कमजोर तयारीका बावजुद फिलिपिन्ससँगको खेलमा १-० गोलले पराजित भए पनि राहत महसुस गरेका थिए। फिलिपिन्ससँग यसअघिका खेलभन्दा कम गोल खानु नेपालका लागि उपलब्धि बन्यो।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ११ : ५६ बजे