९ आश्विन २०८१, बुधबार | September 26, 2024

ओखलढुङ्गाका सुकुम्बासीलाई निस्सा वितरण



आसर-१७

यहाँका सुकुम्बासीलाई लालपुर्जाका लागि निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्बासीलाई निस्सा वितरण गर्न थालेको हो ।

जिल्लामै पहिलो पटक सुनकोशी गाउँपालिका–१ का राजु लुइँटेल र विनोद मगर, वडा नं ४ की बेलमाया राई, वडा नं ९ का बलबहादुर मोक्तान तथा १० की डेककुमारी घिमिरेले निस्सा पाउनुभएको छ । प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी, गाउँपालिका अध्यक्ष कमल तामाङ र जिल्ला भूमि आयोगका अध्यक्ष पुरुषोत्तम लुइँटेलले सुुकुम्बासीलाई निस्सा हस्तान्तरण गर्नुभएको थियो ।

जिल्लाका आठ स्थानीय तहमध्ये सुनकोशी गाउँपालिकाबाट भूमिहीन र सुकुम्बासीलाई निस्सा वितरण सुरु गरिएकोे आयोगका जिल्ला अध्यक्ष लुइँटेलले बताउनुभयो । विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीलाई पनि प्रक्रिया पूरा गरेर निस्सा वितरण गरिने उहाँको भनाइ छ ।

निस्सा वितरण गर्दै गाउँपालिकाका अध्यक्ष तामाङले लामो समयसम्म जग्गा नपाएका सुकुम्बासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको बताउनुभयो । लालपुर्जा प्राप्तिका लागि स्थानीय तहले आवश्यक सहजीकरण गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कुमारीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकार लागिपरेको बताउनुभयो । जिल्लामा यकीन विवरण तयार गरेर निष्पक्ष भएर कोही नछुट्ने गरी आयोगले काम गर्नुपर्ने उहाँको भनाइ छ ।

निस्सा प्राप्त गरेकाले अब लालपुर्जा पाउने आशा राखेका छन् । निस्सा पाएका लाभग्राहीको अब थप अनुगमन गरेर जग्गा वितरणका लागि नापजाँच गर्ने कार्य अगाडि बढेपछि छिट्टै लालपुर्जा वितरण हुने आयोगले जनाएको छ । पहिलो चरणमा जिल्लामा एक सयभन्दा बढीको सङ्ख्यामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिने आयोगले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  १२ : ३६ बजे