९ आश्विन २०८१, बुधबार | September 25, 2024

बाढीपिडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री समक्ष माग



आसर-२२

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधीसभा सदस्य दीपक खड्काले सङ्खुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गर्नुभएको छ ।

सांसद खड्काले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर यही असार २ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट पीडित जनतालाई सङ्घीय सरकारका तर्फबाट राहतको व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो । उहाँले सङ्खुवासभामा बाढीबाट १८ घरमा क्षति पुगेको, चार जलविद्युत् आयोजनामा पूर्ण क्षति र छ जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको बताउनुभयो ।

बाढीले नहर तथा कुलो बगाउँदा कतिपय स्थानमा अहिलेसम्म पनि रोपाइँ हुन नसकेकाले आगामी दिनमा खाद्यान्न अभाव हुने अवस्था सिर्जना हुने भन्दै उहाँले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनुभयो । बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत १९ मजदुर बेपत्ता भएका थिए । तीमध्ये दुई जनाको शव फेला परेको छ । तीनजना घाइतेको उद्धार गरिएको थियो ।

सङ्खुवासभाको हेवाखोलामा आएको बाढीले चैनपुर नगरपालिका र पाँचखपन नगरपालिका जोड्ने पक्की पुल बगाएको थियो भने चैनपुर नगरपालिकाको निर्माणाधीन पुल बगाएको थियो । सांसद खड्काले पुल बगाउँदा आवतजावतमा समेत समस्या भएको बताउनुभयो ।

भेटमा प्रधानमन्त्री दाहालले सरकार बाढीपीडित जनताको साथमा सधैँ रहेको उल्लेख गर्दै जनताको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पूर्वी पहाडी जिल्लाको बाढीपहिरोको बारेमा आफू पूर्ण जानकार रहेकाले त्यसको समस्या समाधानका लागि सरकारले कदम चालेको बताउनुभयो । बाढीबाट क्षति पुगेको पुलमा तत्काल बेलिब्रिज हाल्नका लागि निर्देशन दिइसकिएको प्रधानमन्त्री दाहालले सो अवसरमा जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ११ : ४२ बजे