२ आश्विन २०८१, बुधबार | September 18, 2024

अब २५ लाखभन्दा माथिको कर्जा लिंदा प्यान अनिवार्य



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले छुट्टाछुट्टै वा एकमुष्ट गरी २५ लाख वा सोभन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नुपरेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने भएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि ल्याएको मौद्रिक नीतिको कार्यान्वयनको लागि परिपत्र मार्फत गरेको एकीकृत निर्देशन संशोधनले यस्तो व्यवस्था गरेको हो।

कुनै व्यक्तिले एउटै बैंकबाट वा अलग–अलग बैंक तथा वित्तीय संस्थाबाट २५ लाख वा सो भन्दा बढी रकमको कर्जा लिएको भए पान अनिवार्य गरिएको हो।

एका घर परिवारलगायत एउटै समूह अन्तर्गत पर्ने ऋणी भएमा त्यस्तो समूहले २५ लाख वा त्योभन्दा बढी रकमको कर्जा लिदा पनि पान नम्बर अनिवार्य गरिएको छ।

यस्तो समूहका कुनै व्यक्तिले पाउने २५ लाख रुपैयाँभन्दा कम रकमको कर्जाको लागि पनि पान नम्बर भने अनिवार्य हुने भएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिमा भएको व्यवस्था कार्यान्वयनको लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यससँगै मौद्रिक नीतिको व्यवस्था कार्यान्वयनमा आएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १ : ५७ बजे