८ आश्विन २०८१, मंगलबार | September 24, 2024

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित



काठमाडौँ । राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध कायम राखेको छ । प्रमुख प्रतिपक्ष दल एमालेले सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् अघि बढ्न नसक्ने अडानसहित आजको बैठकमा पनि संसद् अवरोध गरेको हो ।

बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रिय सभाका संसदीय दलका उपनेता भैरवसुन्दर श्रेष्ठले सरकारले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए । उनले विमानस्थलबाट त्यत्ति ठुलो मात्रामा भएको सुन तस्करीका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको इज्जतमाथि दाग लागेको बताए ।

उनले यस प्रकरणमा जोसुकै व्यक्ति संलग्न भए पनि ती व्यक्तिलाई कानुनको दायरामा ल्याउनुपर्ने जिकिर गरे । सरकार यस प्रकरणमा गम्भीर हुन नसकेको बरु अहिले नयाँ तथ्यहरू बाहिर आइरहेको श्रेष्ठले बताए ।

राष्ट्रियसभाको अर्को बैठक यही साउन २२ गते सोमबार अपहन्न १ बजेर १ मिनेटमा बस्नेछ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  १ : ५९ बजे