३ आश्विन २०८१, बिहिबार | September 19, 2024

वर्षाको डरबीच भारतले भोलि पाकिस्तानविरुद्ध खेल्ने



काठमाडौँ- एसीसी एसिया कपको सर्वाधिक सफल टिम भारतले भोलि पहिलो खेलमा आयोजक पाकिस्तानको सामना गर्दैछ ।

समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानबीचको खेल श्रीलंकाको केन्डीस्थित पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ ।

तर, केन्डीमा शनिबार वर्षा हुने सम्भावना रहेका कारण भारत र पाकिस्तानबीचको खेल प्रभावित हुने देखिएको छ ।

जारी एसिया कपमा भारतले समूह चरणको पहिलो खेल खेल्दा पाकिस्तानले भने दोस्रो तथा अन्तिम खेल खेल्नेछ ।

यसअघि पहिलो खेलमा पाकिस्तानले आफ्नो घरेलु मैदान मुल्तानमा नेपाललाई २ सय ३८ रनले पराजित गरेको थियो । नेपालविरुद्ध पाकिस्तानका कप्तान बाबर आजमले १ सय ५१ रन तथा इफ्तिकार अहमदले १ सय ९ रन जोडेका थिए ।

शदाब खानले भने नेपालविरुद्ध सर्वाधिक ४ विकेट हात पारेका थिए ।

भारतले पाकिस्तानविरुद्धको खेलपछि सोमबार नेपालसँग खेल्ने तालिका रहेको छ ।

भारतले समग्रमा एकदिवसीय फर्म्याटको एसिया कप सर्वाधिक ६ तथा टी-ट्वान्टी फर्म्याटको एसिया कप एकपटक जितेको छ । पाकिस्तानले भने केवल दुईपटक एकदिवसीयको एसिया कप हात पारेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ३ : ५६ बजे