४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने



काठमाडौं । एसिया कप–२०२३ मा नेपालले आफ्नो दोस्रो खेलमा भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

श्रीलंकाको क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा केही बेरपछि सुरु हुने खेलका लागि भएको टस जितेपछि भारतीय टिमका कप्तान रोहित शर्माले फिल्डिङ रोजे । नेपाललाई ब्याटिङको निम्तो दिए ।

एसिया कपमा यसै संस्करणबाट ‘डेब्यु’ गरेको नेपाली टिमले सन् १९८३ र २०११ को विश्वकप विजेता समेत रहेको भारतविरुद्ध पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो ।

आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्दै एसिया कपको ‘सुपर फोर’मा स्थान बनाउनेछ । सुपर फोरमा प्रवेशका लागि जित्नैपर्ने दबाबसहित भारत मैदानमा उत्रिँदै छ ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । भारत–पाकिस्तानबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  २ : ५६ बजे