२ आश्विन २०८१, बुधबार | September 18, 2024

एशिया कपमा आज भारत-पाकिस्तान भिड्दै



नेपाली समय अनुसार दिउँसो ३:१५ बाट खेल शुरू हुनेछ। तर, आजको खेल वर्षाले अवरुद्ध हुने सम्भावना रहेको छ। आज खेल हुने कोलम्बोको आर. प्रेमदास क्रिकेट रंगशाला क्षेत्रमा वर्षाको सम्भावना ९० प्रतिशतसम्म रहेको छ।

भारत र पाकिस्तानबीचको यसअघि समूह चरणको खेल पनि वर्षाका कारण पटक पटक अवरुद्ध भई रद्द भएको थियो। तर, यसपटक यी दुई टोलीबीचको खेलको लागि ‘रिजर्भ डे’को समेत व्यवस्था छ। अर्थात् वर्षाका कारण आज खेल रद्द भएमा भोलि पुनः खेल हुनेछ। एशिया कपमा फाइनल र यो खेलका लागि मात्र रिजर्भ डेको व्यवस्था गरिएको हो।

यसबीच पाकिस्तानले भारत विरुद्ध खेल्ने आफ्नो प्लेइङ-११ सार्वजनिक गरिसकेको छ। बाबर आजमको कप्तानीमा मैदानमा उत्रने पाकिस्तानी टोलीमा शादाब खान, फखार जमान, इमाम उल हक, सलमान अली अघा, इफ्तिखार अहमद, मोहम्मद रिजवान, फहीम अस्रफ, नसीम शाह, शाहीनशाह अफ्रिदी र हरीश रउफ रहेका छन्।

यस्तै, भारतीय टोलीमा केएल राहुल र जसप्रित बुमराहको पुनरागमन भएको छ। राहुल चोटका कारण बाहिर थिए भने बुमराह सन्तान जन्मिएकाले भारत फर्किएका थिए।

अर्थात् भारतीय टोलीमा अब इशान किसनको स्थानमा केएल राहुल र मोहम्मद शामीको स्थानमा बुमराह हुन सक्नेछन्। बाँकी सदस्यमा शुभमन गिल, रोहित शर्मा, विराट कोहली, श्रेयस ऐयर, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव र मोहम्मद सिराज हुन सक्नेछन्

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ८ : २३ बजे