६ आश्विन २०८१, आइतबार | September 22, 2024

विश्वकप क्रिकेट : इङ्ल्यान्डले बंगलादेशलाई १३७ रनले हरायो



काठमाडौं : भारतमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आज सम्पन्न खेलमा इङ्ल्यान्डले बंगलादेशलाई पराजित गरेको छ। इङ्ल्यान्डले बङ्गलादेशलाई एक सय ३७ रनले हराएको हो।

भारतको हिमाञ्चल राज्यको धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय ६४ रन बनायो। तीन सय ६५ रनको विजय लक्ष्य पछाएको बंगलादेशको पारी ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै दुई सय २७ रनमा समेटियो।

बंगलादेशका लागि लिट्टन दासले सर्वाधिक ७६ रनको योगदान दिए। उनले ६६ बलमा दुई छक्का र सात चौका प्रहार गरे। त्यस्तै मुस्फिकुर रहिमले अर्धसतकीय पारी खेले। उनले ६४ बल खेल्दै चार चौकाको मद्दतमा ५१ रन बनाए। तोहिद हृदोयले ३९ रन बटुले।

बलिङतर्फ इङ्ल्यान्डका रिस टप्लेले चार, क्रिस वोक्सले दुई तथा मार्क उड, आदिल रसिद, लियाम लिभिङस्टोन र साम करनले एक एक विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा इङ्ल्यान्डका डेविड मलानले सर्वाधिक १४० रनको योगदान दिए। उनले १०७ बल खेल्ने क्रममा १६ छक्का र पाँच चौका हाने। त्यस्तै जोए रुटले उत्कृष्ट ब्याटिङ गर्दै ८२ रन जोडे। उनले ६८ बलको सामना गर्दै एक छक्का र आठ चौका प्रहार गरे। जोनी ब्रेस्टोले ५२ रन बनाए। उनले ५९ बल खेल्दै आठ चौका हाने। कप्तान जस बट्लरले २० रन बनाए।

बलिङतर्फ बंगलादेशका लागि मेहदी हसनले चार, सोरिफुल इस्लामले तीन तथा कप्तान सकिब अल हसन र तास्किन अहमदले एक एक विकेट लिए।

जारी विश्वकपमा इङ्ल्यान्डको यो पहिलो जित हो। यसअघि आफ्नो पहिलो खेलमा इङ्ल्यान्ड न्युजिल्यान्डसँग नौ विकेटले पराजित भएको थियो। बंगलादेशको पनि यो पहिलो हार हो। यसअघि बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ८ : ३२ बजे