६ आश्विन २०८१, आइतबार | September 22, 2024

रश्मि, आँचल र अविनाशले मुशायरा तताउँदै



काठमाडौं : नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको ‘गजल मुशायरा’मा यस पटक ३ जना गजल स्रष्टा प्रस्तुत हुँदै छन्।

 

 

२३ मङ्सिर शनिबार राष्ट्रिय नाचघर जमलमा गजलकारहरू रश्मि असफल, आँचलकुमार शर्मा र ‘अविनास’ सापकोटाले सुन्दर र सशक्त गजल प्रस्तुत गर्ने आयोजकले बताएको छ।

सोही कार्यक्रममा प्रतिष्ठानले अन्य गजलकारहरूलाई समेत प्रत्यक्ष रूपमा आफ्नो सहभागिता रहेको अनुभूति गराउने उद्देश्यले मञ्चमा उपस्थित ३ जना गजलकारहरूबाट थप ३ जना गजलकारको १/१ वटा गजल प्रस्तुत गर्ने परम्परालाई यस मुशायरामा पनि निरन्तरता दिनेछ। यसका अलावा १० जना गजलकारका १० वटा उत्कृष्ट शेरहरूलाई कार्यक्रमका सहजकर्ता भुवन निश्तेज वाचन गर्नुहुनेछ।

यसअघि गजल मुशायरा- १ मा डा. प्रदीपकुमार मैनाली, आवाज शर्मा र शान्ति शर्मा प्रस्तुत भएका थिए भने गजल मुशायरा- २ मा राधा कणेल, अनजान यात्री र मिलनकुमार ढुङ्गानालाई प्रस्तुत गरिएको थियो।

‘नेपाली गजलको विकास र विस्तारका लागि’ मूल मन्त्र लिएको प्रतिष्ठानले हरेक महिना गजल सुन्ने/सुनाउने गर्दै आएको छ भने बहर बहार र मोती पाठशालामार्फत गजल प्रशिक्षण पनि दिँदै आएको छ।

साथै, निकट भविष्यमा ‘गजल आइडल’ आयोजना गर्ने योजनासमेत बनाइरहेको प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए।

आागामी १८ चैतमा दोस्रो साङ्गीतिक मुशायराको समेत आयोजना हुने जनाइएको छ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ११ : ५९ बजे